कोरोना फेरि फैलिन थाल्यो, एशियामा संक्रमितको संख्या बढ्दै

नयाँ दिल्ली/काठमाडौं – सन् २०२० मा सुरु भएको कोरोना महामारीको असर आज सम्म विश्व भर महसुस गर्न सकिन्छ। अहिले फेरि यो भाइरसले आफ्नो प्रभाव विस्तार गर्न थालेको देखिएको छ। एशियाका विभिन्न देशहरूमा कोभिड–१९ को नयाँ लहर फैलिरहेको छ, जसले पुनः चिन्ता बढाएको छ।
सिङ्गापुर र हङकङमा संक्रमितको वृद्धि
अघिल्ला केही साताहरूमा सिङ्गापुर र हङकङमा कोभिड का केसहरू तीव्र रूपमा बढेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार यो वृद्धिको प्रमुख कारण एलएफ.७ र एनबी.१.८ जस्ता उप प्रकार हुन्, जुन जेएन.१ भेरियन्टबाट उत्पन्न भएका हुन्।
जेएन.१ भेरिएन्ट नेपालमा २०८० सालको पुस महिनामा देखि सकिएको छ। त्यस्तताका स्वास्थ्य अधिकारीहरूले नेपालहेल्थप्रेसलाई जेएन.१ भेरिएन्ट देशव्यापी नै भइसकेको बताएका थिए।
भारतमा अवस्था नियन्त्रणमा, तर सतर्कता आवश्यक
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २०२५ मे १९ तारिख सम्म देश भर २५७ सक्रिय संक्रमित रहेका छन्। अघिल्लो सातामा १६४ नयाँ केस पुष्टि भएका छन्, जसले क्रमशः वृद्धिको संकेत दिन्छ। यद्यपि, हाललाई स्थिति नियन्त्रणमा रहेको बताइएको छ।
भारतमा, विशेष गरी महाराष्ट्रमा कोरोनाका केसहरू बढ्दै गइ रहेका छन्। हालै वलिउड अभिनेत्री शिल्पा शिरोडकरले पनि आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएकी छिन्।
नेपालमा स्थिति अस्पष्ट
नेपालमा कोभिडको वर्तमान अवस्था बारे आधिकारिक स्पष्ट जानकारी बाहिर आएको छैन। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नाम उल्लेख नगर्ने सर्तमा संक्रमणको यथार्थ स्थिति बारे अनभिज्ञता प्रकट गरेका छन्।
विज्ञहरूको अनुसार छिमेकी मुलुक भारतमा अहिलेको लागि कोरोना स्थिति नियन्त्रणमा देखिए पनि एशियाका अन्य मुलुकहरूमा तीव्र वृद्धिले सतर्कता अपनाउनु पर्ने स्पष्ट संकेत दिएको छ।
हामी सबैले सचेत रहनु, सावधानी अपनाउनु र स्वास्थ्य मापदण्डहरू पालना गर्नु अत्यावश्यक छ। यसैबाट हामी आफैं र हाम्रो समाज सुरक्षित रहन सक्छौं।
यी लक्षणहरू देखिएमा सजग रहनुहोस्
कोरोनाको जेएन.१ भेरिएन्टका लक्षणहरू अघिल्ला भेरियन्टसँग मिल्दोजुल्दो भए पनि केही फरक विशेषताहरू देखिएको छ। संभावित लक्षणहरू यस्ता छन्:
सुक्खा खोकी
- स्वाद वा गन्ध हराउनु
- टाउको दुखाइ
- नाक बग्ने वा जम्ने
- थकान वा कमजोरी
- घाँटी दुख्ने
- ज्वरो
- झाडापखाला (केही अवस्थामा बढी देखिने)
यी लक्षणहरू व्यक्तिको खोप स्थिति अनुसार फरक हुन सक्छन्। कुनै पनि असहजता महसुस भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।
संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरू
- हात बारम्बार धुनुहोस् -कम्तिमा २० सेकेन्ड सम्म साबुन र पानीले हात धुनुहोस्। आवश्यक पर्दा कम्तीमा ६०% एल्कोहोलयुक्त स्यानिटाइजर प्रयोग गर्नुहोस्।
- अनावश्यक अनुहार छुनबाट बच्नुहोस् -आँखा, नाक र मुख नछुनुहोस्।
- सामाजिक दूरी कायम राख्नुहोस् – घरभित्र वा बाहिर, अरूसँग कम्तिमा ६ फिटको दूरी कायम गर्नुहोस्। बिरामी देखिएको व्यक्तिलाई आइसोलेट गर्नुहोस्।
- आवश्यक नभए सम्म भीडभाड बाट टाढा रहनुहोस् – सामूहिक जमघट वा पूजा स्थलहरूमा जाने क्रम केही समयका लागि रोक्नुहोस्।
- मास्क लगाउनुहोस् – भिडभाडमा जाँदा, वा रुघाखोकीको लक्षण भएका व्यक्तिको नजिक बस्दा कपडाको मास्क वा सामान्य तीन तह भएका मास्क लगाउनुस ।
- खोकी वा हाच्छ्युँ गर्दा मुख छोप्नुहोस् – टिश्यु वा कुहिनोको प्रयोग गर्नुहोस्
- बारम्बार छोइने सतहहरू सफा गर्नुहोस् – टेबल, ढोकाको ह्यान्डल, लाइट स्वीच, मोबाइल, किबोर्ड, ट्याप आदिलाई नियमित रूपमा सफा र कीटाणुमुक्त गर्नुहोस्।
- सरकारी निर्देशनहरूको पालना गर्नुहोस् – स्वास्थ्य मन्त्रालय र स्थानीय प्रशासनको सुझाव अनुसार कार्य गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस