वीरगंजमा पुष्टि भयो हैजाको प्रकोप, ओ १ ओगाबा सेरोटाइपले सङ्क्रमण, के हो हैजा ? कसरी जोगिने, के गर्ने ?

अतुल मिश्र (काठमाडौं)– वीरगंजमा प्रकोप कै रुपमा फैलिएको झाडापखाला हैजा रहेको पुष्टि भएको छ । यो हैजा भिब्रियो कलेरी ओ १ ओगाबा सेरोटाइप को सङ्क्रमणले गर्दा भएको हो।
बीरगञ्जबाट राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु,काठमाडौंमा पठाइएको १० नमुना मध्ये ८ नमुनामा हैजा देखिएको हो। पहिलो पटकमा हैजा नदेखिएका दुई नमुना लाई समेत पुन सब कल्चर गरिएको छ । यसको नतिजा केहि पछि आउने छ ।
अनियन्त्रित रूपमा चोलानी जस्तो पातलो दिशा हुने रोगलाई बोलचालको भाषामा झाडा पखाला (डायरिया) भनिन्छ । यस्ता बिरामीको पखालामा ब्याक्टेरियम भिब्रियो कलेरी जीवाणु देखियो भने त्यो हैजा हो।
आन्द्राको गम्भीर संक्रमण हैजा ग्राम नेगेटिभ ब्याक्टेरिया भिब्रियो कलेरीले गर्दा हुन्छ। यो सङ्क्रमण गम्भीर पखालाको कारण बन्नुको साथै उचित उपचार अभावमा ज्यान समेत लिन सक्छ। हाल सम्म बीरगञ्जमा हैजाले तीन जनाको मृत्यु भइसकेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जन राज भट्ट को अनुसार मुलुकमा यो वर्ष बीरगञ्जमा देखिएको हैजाको प्रकोप ‘भिब्रियो कलेरी ओ १ ओगाबा’, सेरोटाइपले गर्दा भएको हो।
भिब्रियो कलेराको धेरै सेरोटाइप समूहहरू भए पनि ‘ओ १’ र ‘ओ १३९’ सेरोटाइपले प्रकोपहरू निम्त्याउने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाउदै आएको छ । यी दुई सेरो टाइपको कारण हुने रोगमा कुनै पनि फरक छैन ।
.असुरक्षित पिउने पानी, सरसफाईको कमी र अपर्याप्त स्वच्छता ले हैजाको उच्च जोखिम हुन्छ। खानेपानीको शुद्धिकरण, मानवजन्य फोहोरको उचित व्यवस्थापन हैजाबाट जोगिने महत्त्वपूर्ण उपायहरू हुन्।
इपिडमोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. चन्द्रभाल झा का अनुसार हैजाको प्रकोप फैलिएको वीरगञ्जमा आगामी केही महिना सम्म दूषित पानी र दुषित खानाबाट जोगिन विशेष उपाय अपनाउनु पर्छ।
डब्लुएचओ को अनुसार धेरैजसो हैजा संक्रमितमा कुनै लक्षण देखिन्न । लक्षण देखिनेहरूमा हल्का देखि मध्यम स्तरीय गम्भीरता हुन्छ र यसलाई ओरल रिहाइड्रेसन थेरापीको माध्यमले सफलता पूर्वक उपचार गर्न सकिन्छ ।
यस्तै हैजा भएका १० जना संक्रमित मध्ये एक जनामा गम्भीर जटिलता देखिन सक्छ। यस्ता गम्भीर बिरामी ले समय मै उपचार नपाए केही घण्टामै मृत्यु समेत हुन सक्छ।
डब्लुएचओं को अनुसार हैजाको लक्षण देखिनु अघि यो पाँच दिन सम्म शरीरमा विकसित हुन सक्छ । सामान्य रूपमा भन्ने हो भने शरीरमा हैजाको संक्रमण भएको ५ देखि १२ दिनको बीचमा लक्षण देखिन्छ।
अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को अनुसार सामान्यतया हैजाको लक्षण ब्याक्टेरियाको सम्पर्कमा आएको २ देखि ३ दिन पछि सुरु हुन्छ।
हालैका वर्षहरूमा डब्लुएचओ लाई रिपोर्ट गरिएका हैजाका बिरामीहरूको संख्या बढ्दै गएको देखिएको छ । सन २०२३ मा ४५ देशहरूबाट ५,३५,३२१ केसहरू र ४००७ मृत्युहरू डब्लुएचओ लाई रिपोर्ट गरिएको थियो ।
हैजाको निदान
हैजाको निदान संकास्पद व्यक्तिको दिसाको नमुनामा भिब्रियो कोलेरी ब्याक्टेरियाको पहिचान गरेर गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.भट्टले हैजाको पहिचानको लागि सवै भन्दा सटिक मानव मल को नमूना को कल्चर रहेको बताउछन । तर हाल रैपिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) द्वारा समेत हैजा पहिचान गरिन्छ । यसको सटिकता सत प्रतिशत हुदैन ।
हैजाको लागि आरडिटी (रैपिड डाइग्नोस्टिक टेष्ट) परिक्षणले दुर्गम क्षेत्रहरुमा चिकित्साकर्मी लाई छिट्टै हैजाको निदान को पुष्टि गर्न सक्षम बनाउने समेत डा.भट्ट बताउछन ।
द्रुत हैजा परिक्षणले धेरै छिटो हैजाको पुष्टि गर्ने भएकोले यसले हैजाको प्रकोपको शुरुमा मृत्य दर घटाउन मद्दत गर्छ र प्रकोप नियन्त्रणको लागि सहयोग प्रदान गर्छ ।
हैजाका पहिचान गर्न चिकित्साकर्मीले संकास्पद व्यक्तिको मलको नमूना लिन्छन् वा मलाशयबाट नमूना प्राप्त गर्न स्वाब प्रयोग गर्छन् । यसलाई प्रयोगशालामा पठाइन्छ जहा मलमा हैजाको ब्याक्टेरिया छ भने बढाउने (कल्चर) गरिन्छ । यस पटक विरगंज वाट जनस्वास्थ्य प्रयोगशाला पठाइएको १० नमुना मध्ये ८ मा हैजा देखिए पनि २ मा नदेखिदा पुनः कल्चर गरिएको छ ।
विरामीको दिसाको नमुनामा भिब्रियो कलेरी को पहिचान गर्नु ले हैजा संक्रमण भएको पुष्टि गर्छ ।
पछिल्लो समय चिकित्सकहरूले ब्याक्टेरियाको आनुवंशिक पदार्थ (डिएनए) को मात्रा बढाउन पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिको प्रयोग गर्न सक्ने समेत डा.भट्ट बताउछन । यसले ब्याक्टेरियालाई छिटो पत्ता लगाउन सकिन्छ ।
हैजाको उपचार
सिडिसि को तथ्य पत्र अनुसार हैजाको उपचारमा रिहाइड्रेशन थेरापी (पुनर्रजलिय उपचार), एन्टिबायोटिक्स र बच्चाहरु को लागि जिंक पूरक समावेश हुन सक्छ ।
पखाला र वान्ताको माध्यमले शरीवाट निस्किएको पानी र लवण लाइ द्रुत गतिमा प्रतिस्थापन गरेर जीवन बचाउन सकिन्छ । धेरै जसो मानिसहरूलाई मुखको माध्यमले दिइने ओरल रिहाइर्ड्रेसन साल्ट (ओआरएस), जसलाइ हामी वोलचालको भाषामा जीवन जल समेत भन्छौं वाट प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ । यी विधिहरू शरीर वाट गुमेको तरल पदार्थ प्रतिस्थापन गर्न डिजाइन गरिएको हो ।
तर गम्भिर रूपमा निर्जलिकरण भएका अर्थात शरिरमा पानी को अत्यधिक कमी भएका व्यक्तिहरूका नसा वाट पानी चढाइने गरिन्छ ।
एन्टीबायोटिक्स
झाडापखालाको गम्भीरता कम गर्न र यसलाई चाडै रोक्न कहिले काही एन्टिबायोटिक पनि दिने गरिन्छ । प्रकोप फैलिएको समयमा एन्टिबायोटिक सेवन गर्ने व्यक्तिहरु वाट संक्रमण फैलिने सम्भावना थोरै कम हुन्छ ।
तर आफू खुशी कसैलाइ सोधेर नभइ यो डाक्टर वा चिकित्साकर्मीले प्रस्तावित गरे मात्र उपयोग गर्नु पर्छ । चिकित्सकहरूले यस्तो एन्टिबायोटिक छनौट गर्छन् जुन स्थानीय समुदायमा हैजा उत्पन्न गर्ने ब्याक्टेरिया विरुद्ध प्रभावकारी मानिन्छ । (यो समाचारमा अतुल मिश्र द्वारा गत वर्ष हैजाको वारेमा लेखिएका जानकारीहरु समेत समावेस गरिएको छ)
हैजा बाट जोगिन के गर्ने ?
- पिउन, भाडाकुडा धुन, आइस क्यूब बनाउन र दात माझ्नका लागि शुद्ध पानी मात्र प्रयोग गर्नुहोस्
- यदि तपाइ धाराको पानी प्रयोग गर्नुहुन्छ भने, यसलाई उमाल्नुहोस् वा आयोडिन ट्याब्लेट, क्लोरिन चक्कीहरू प्रयोग गर्नुहोस्
- साबुन र सफा पानीले बारम्बार हात धुनुहोस्
- तपाईंले खाएको पकाइएको खाना पूर्ण रूपमा पकाइएको र तातो पस्किएको सुनिश्चित गर्नुहोस्
- कम पकाएको पानीमा पाइने ‘शेलफिस’ बाट जोगिनुस
- पानीमा पाइने ‘शेलफिस’ले अन्य प्रकारका भिब्रियो पनि बोक्छ
- नधोइएका वा नखुलेका काचो फलफूल र तरकारीहरू नखानुहोस्
प्रतिक्रिया दिनुहोस