नेपाल रूबेला रोग निवारण गर्न सफल

काठमाडौँ– नेपालले रूबेला (जर्मन मिजिल्स) रोगलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्न अर्थात् रोग निवारण गर्न सफल भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार नयाँ दिल्लीमा घोषणा गरेको छ।
गर्भवती महिलामा विशेष जोखिम पूर्ण मानिने रूबेला भाइरस संक्रमणले गर्भपतन, मृत शिशु जन्म वा दीर्घकालीन जन्मजात स्वास्थ्य समस्या ल्याउन सक्छ। तर सुरक्षित र किफायती खोपका कारण यसलाई नियन्त्रण गर्न सकिने भएकोले नेपालले यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको हो।
डब्ल्यूएचओ दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले नेपालको सफलतालाई ‘नेतृत्वको प्रतिबद्धता, स्वास्थ्यकर्मी र स्वयंसेवकको अथक प्रयास तथा समुदायको सक्रिय सहकार्यको परिणाम’, भन्दै प्रशंसा गरिन्।
नेपाललाई रूबेला उन्मूलनको प्रमाणित मुलुकका रूपमा सिफारिस गर्ने निर्णय डब्ल्यूएचओ दक्षिण पूर्व एशियाली क्षेत्रीय प्रमाणिकरण आयोग (एसइए-आरभीसी) ले गत २२–२४ जुलाईमा सम्पन्न वार्षिक बैठक पछि गरेको हो।
यससँगै नेपाल दक्षिण पूर्व एसियाली क्षेत्रको छैटौँ मुलुक बनेको छ जसले रूबेला उन्मूलन गरेको हो। यस अघि भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर-लेस्टेले रूबेला नियन्त्रण गरेका थिए।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्य भन्दा अघि नै उपलब्धि हासिल गरेको भन्दै सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, सामुदायिक कार्यकर्ता र सहयोगी निकायलाई धन्यवाद दिए। उनले भने,-‘खोप कार्यक्रम हाम्रो स्वास्थ्य प्रणालीको बलियो आधार स्तम्भ बनेको छ। अब कुनै पनि बालबालिकाले खोपबाट बच्न सकिने रोगको पीडा भोग्न नपरोस् भन्ने हाम्रो लक्ष्य हो।’
नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै रूबेला खोप सुरु गरेको थियो। त्यसपछि २०१६ मा नियमित खोप तालिकामा दोस्रो मात्रा समावेश गरियो। २०१२, २०१६, २०२० र २०२४ मा सम्पन्न चार वटा राष्ट्रिय खोप अभियानले पनि उपलब्धि हासिल गर्न महत्त्वपूर्ण भूमिका खेले।
२०२४ सम्म आइ पुग्दा नेपालले रूबेला खोपको कम्तीमा एक मात्रा लिनेमा ९५ प्रतिशत भन्दा बढी कभरेज हासिल गरेको थियो। ‘खोप महिना’ मनाउने, छुटेका बालबालिका सम्म खोप पुर्याउने, र ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणालाई प्रोत्साहन गर्ने रणनीतिले यसलाई थप गति दिएको हो।
डब्ल्यूएचओ नेपालका प्रतिनिधि डा. राजेश सम्बाजी पाण्डवले नेपाललाई बधाई दिँदै भने, ‘यो उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदाय बीचको सफल सहकार्यको परिणाम हो। यसलाई दीर्घकालीन रूपमा कायम राख्न डब्ल्यूएचओ नेपाललाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छ।’
प्रतिक्रिया दिनुहोस