दोहोरिएर डेङ्गु हुनेहरू सावधान, दोस्रो पटकको डेङ्गीले २४ वर्षीय स्वस्थ युवतीको ज्यान लियो


काठमाडौँ -मुलुकमा सन् २०२५ को प्रयोगशाला प्रमाणित पहिलो डेङ्गु सङ्क्रमणले राजधानीमा एक युवतीको मृत्यु भए सँगै दोहोरिएर डेंगु हुनु पहिलो पटक भन्दा बढी जोखिम युक्त देखिएको छ ।

विज्ञहरूले एक पटक डेङ्गु  भइ सकेकाहरू लाई थप सावधानी अपनाउँदै लक्षण देखिए तुरन्त स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरेका छन ।

कुनै अन्य दीर्घ वा जटिल रोग नभएकी २४ वर्षीय महिलाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएको अर्को दिन बुधबार मृत्यु भएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लएचओ)को अनुसार डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगु गराउने भाइरसका ४ सेरोटाइपहरू अर्थात् डेन -१, डेन -२, डेन -३ र डेन -४ को रूपमा चिनिन्छन्। धेरै जसो डेंगु संक्रमणहरू हल्का हुन्छन् र याद नहुन सक्छन्। गम्भीर (सिभियर) डेंगु एक सम्भावित घातक जटिलता हो जुन डेंगु संक्रमणबाट विकास हुन सक्छ।

टेकु अस्पताल भर्ना ती महिला सिभियर डेङ्गु ले प्रभावित र शकमा थिइन्। उनलाई पछिल्लो पाँच, छ दिनदेखि १०३ सम्म पुग्ने उच्च ज्वरो, टाउको दुखाई आदि लक्षण देखिएको थियो।

‘मङ्गलबार भर्ना भएकी ती महिलाको रक्तचाप एकदम कम थियो, शक म्यानेजमेन्ट गर्न आइसियुमा राख्यौं, तर सकेनौँ बुधबार उनको मृत्यु भयो।’, टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.बिमल चालिसेले नेपालहेल्थप्रेस सँग भने -‘रगत परीक्षण गर्दा उनको पहिले पनि डेङ्गु संक्रमण भइसकेको (सेकेन्डरी डेङ्गु) देखियो, तर ती महिलालाई यस बारे जानकारी थिएन।’

सम्भवत: ती महिलालाई यस अघि लक्षण रहित (एसिम्टोम्याटिक) वा मध्यम लक्षण भएको डेङ्गु देखिएको हुन सक्ने र त्यसलाई उनी सामान्य रूपमा लिएको चिकित्सकहरूको आकलन छ ।

विज्ञहरूको अनुसार यदि तपाईँलाई फरक सेरोटाइप को डेङ्गु दोस्रो पटक भएको छ भने यो अझ खतरनाक हुन सक्छ। डेङ्गुको प्रत्येक पछिल्लो संक्रमण झन् गम्भीर हुन सक्छ। जुन व्यक्तिलाई दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु हुन्छ उनीहरूलाई गम्भीर डेङ्गु विकसित हुने जोखिम धेरै बढी हुन्छ।

‘सामान्यतया एकपटक डेङ्गु संक्रमण भएको पहिलो १८ महिनासम्म दोहोरिँदैन त्यसपछि दोहोरिएर भएको डेङ्गु पहिलो चोटि भएको डेङ्गी भन्दा धेरै घातक हुन्छ’, डा.चालिसे भन्छन् -‘दुई वर्षअघि समेत हाम्रै अस्पतालमा दोस्रो पटक डेङ्गी भएर आएका एक व्यक्तिको मृत्यु भएको थियो।’

डब्लुएचओ को तथ्यपत्र अनुसार एउटा डेंगी भाइरसको संक्रमणबाट निको भएपछि उक्त भाइरसको सोही सिरोटाइप विरुद्ध आजीवन प्रतिरोधक क्षमता विकास हुन्छ। तर, यो प्रतिरोधक क्षमता अन्य तीन प्रकारका सिरोटाइपबाट हुने पछिल्लो संक्रमण विरुद्ध केवल आंशिक र अस्थायी मात्र हुन्छ। प्रमाणहरूका अनुसार क्रमिक रूपमा हुने संक्रमणले गम्भीर डेंगी हुने जोखिम बढाउँछ। संक्रमण बीचको समय अन्तराल र भाइरसको संक्रमणको विशेष क्रम पनि महत्वपूर्ण हुन सक्छ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक, वरिष्ठ भाइरोलोजिस्ट एवं हाल जापानको नागासाकी विश्वविद्यालयका मोलिकुलर इपिडिमियोलोजी विभागका  प्राध्यापक डा. बासुदेव पाण्डे भन्छन् -‘डेङ्गुको संक्रमण सेकेन्ड्री भएपछि गम्भीर हुने खतरा धेरै बढ्छ। पहिलो पटक जुन सेरोटाइपले संक्रमण भएको छ मात्र त्यही विरुद्ध एन्टिबडी बनाउँछ। अर्को पटक अन्य (नयाँ) सेरोटाइपले संक्रमण हुँदा त्यो एन्टिबडीले त्यस विरुद्ध प्रतिक्रिया गर्छ । शरीरमा डेङ्गु विरुद्ध भएको एन्टिबडी र नयाँ सेरोटाइप विरुद्ध अन्तर सघर्ष हुन्छ। विभिन्न रसायनहरू निस्किन्छन् जसलाई साइटोकाइन भनिन्छ जसले शरीरको विभिन्न मुख्य अङ्ग जस्तै मृगौला कलेजो मुटु आदिमा असर पर्छ र बिस्तारै बहु अङ्ग फेल भएर मृत्यु हुने सम्भावना हुन्छ।’

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का निर्देशक डा.चन्द्रभाल झा भन्छन् -‘सन् २०२५ को प्रयोगशाला प्रमाणित यो पहिलो डेङ्गीले हुने मृत्यु हो। बिरामी २४ वर्षीय कुनै रोग नभएकी युवती भएपनि अन्तिम अवस्था मा (शकमा गइसके पछि) अस्पताल भर्ना गरिएको ले ज्यान जोगाउन सकिएन ।’

डब्लुएचओको अनुसार समयमै डेङ्गु संक्रमणको पहिचान र उपयुक्त चिकित्सा हेरचाह गर्दा केस मृत्युदर १% भन्दा कम हुन्छ।

डा. पाण्डेका अनुसार आफूलाई प्राइमरी डेङ्गु सङ्क्रमण भएको थाहा पाएकाहरू ले पुनः सङ्क्रमण हुन नदिन विशेष सतर्कता अपनाउनु पर्छ। एक पटक सङ्क्रमण भइसकेका व्यक्तिलाई पुनः सङ्क्रमण भएपछि अस्पतालको निगरानीमा राख्नुपर्छ। जसले सिरियस भयो भने समयमा उपचार गर्न सकियोस्। सामान्यतया पहिलो चोटि भएको सङ्क्रमण लाई प्राइमरी भनिन्छ भने पुनः संक्रमण भएकोलाई सेकेन्डरी बन्ने गरिन्छ।

हाल मुलुकमा डेङ्गु सिजन सुरु भइसकेकोले सबैले सतर्कता अपनाउनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन्। डेङ्गी भाइरस सार्ने लामखुट्टेहरू मुख्य रूपमा हाम्रो घर भित्र,  वरिपरि र बगैंचाहरूमा बस्ने गरेको छन्।

विशेष गरी दिनको समयमा लामखुट्टेको टोकाइबाट बचेर  डेंगुको जोखिम कम गर्न सकिन्छ । यस्तै हातखुट्टा छोप्ने लुगाफाटो पनि टोकाईको जोखिमबाट जोगाउन सक्छ।

झ्याल ढोकामा जाली लाउने, लामखुट्टे भगाउने मान्यता प्राप्त स्प्रेहरू उपयोग गर्ने , राति मात्र नभई दिउँसो समेत मच्छरदानी भित्र सुत्ने, परिवारमा कसैलाई डेङ्गी भए लामखुट्टेको टोकाइबाट जोगिएर संक्रमणको फैलावट हुन नदिने र अन्तमा आफ्नो घर भित्र र वरिपरि सरसफाई कायम राख्दै पानी जम्न नदिनु महत्वपूर्ण हो।

यदि डेङ्गीसँग सम्बन्धित लक्षण देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकीय सल्लाह अनुसार उपचार प्रक्रिया सुरु गर्नुपर्ने समेत बताउँछन्।

त्यसमा पनि डेङ्गीको लक्षण देखिएका व्यक्तिलाई यसअघि समेत संक्रमण देखि सकिएको छ भने विशेष चनाखो हुनुपर्ने आवश्यकता छ।

डब्लुएचओंको अनुमान अनुसार  हरेक वर्ष विश्व भर ५ देखि १० करोड भन्दा बढी डेंगुका घटनाहरू हुन्छन र ४ अर्ब मानिसहरू डेंगु प्रभावित देशहरूमा बस्छन् ।

डेंगु ज्वरो को लक्षण

डब्लुएचओंको अनुसार डेंगुले फ्लू अर्थात् रुघा जस्तै लक्षणहरू निम्त्याउँछ र २-७ दिन सम्म रहन्छ। संक्रमित लामखुट्टेले टोकेको ४-१० दिनको इन्क्युबेशन अवधि पछि डेंगु ज्वरो सामान्यतया हुन्छ।

डेंगी ज्वरोको लागि कुनै विशेष एन्टिभाइरल उपचार उपलब्ध छैन । ज्वरो घटाउनका लागि एसिटामिनोफेन (प्यारासिटामोल) प्रयोग गर्न सिफारिस गरिन्छ। एसिटाइलसैलिसिलिक एसिड (एस्पिरिन) र यस सँग सम्बन्धित गैर-स्टेरोइडल एन्टी-इन्फ्लामेटरी औषधिहरू (जस्तै आइबुप्रोफेन) प्रयोग गर्नबाट बच्नुपर्ने डब्लुएचओ को तथ्य पत्रमा उल्लेख छ।

उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट ) सामान्यतया निम्न मध्ये कम्तिमा दुई लक्षणहरू सँग हुन्छ ।

  • टाउको दुख्ने
  • आँखा पछाडि को गेडी दुख्ने
  • वाकवाकी लाग्ने, बान्ता हुने
  • ग्रन्थीहरू सुन्निने
  • जोर्नी, हड्डी वा मांसपेशी दुख्ने
  • दाग।

गम्भीर डेंगु

डब्लुएचओंको अनुसार दोस्रो पटक संक्रमित व्यक्तिहरू गम्भीर डेंगुको बढी जोखिममा हुन्छन्। गम्भीर डेंगुमा विकास हुँदा, रोगको पहिलो संकेत देखा परेको ३-७ दिन पछि महत्वपूर्ण चरण हुन्छ। तापक्रम घट्नेछ, यसको मतलब यो होइन कि व्यक्ति आवश्यक रूपमा निको हुँदैछ।  अर्को तर्फ, यी चेतावनी संकेतहरूमा विशेष ध्यान दिनु आवश्यक छ किनकि यसले गम्भीर डेंगु निम्त्याउन सक्छ

  • गम्भीर पेट दुख्ने
  • लगातार बान्ता हुने
  • गिजाबाट रगत बग्ने
  • छिटो सास फेर्न गाह्रो हुने
  • थकान/बेचैनी
  • बान्ता वा दिसामा रगत आउने
  • धेरै तिर्खा लाग्ने
  • पहेँलो र चिसो छाला ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!