अनुसन्धान
के डेंगु भाइरसलाई सधैंका लागि अन्त्य गर्न सकिन्छ? एम्सको नयाँ अनुसन्धान

नयाँ दिल्ली (ब्युरो) – भारतको नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) का वैज्ञानिकहरूले डेंगु भाइरस सामान्य ज्वरो भन्दा शरीरलाई कसरी धेरै क्षति पुर्याउँछ भन्ने बुझ्न विस्तृत अध्ययन गरेका छन्।
डेंगु केवल उच्च ज्वरो र शरीर दुखाइ दिने रोग मात्र होइन, यो शरीरको प्रतिरक्षा प्रणालीलाई बिस्तारै कमजोर बनाउने अत्यन्तै चालाक भाइरस हो । प्रश्न उठ्छ, यो भाइरस यति चालाक कसरी भयो र के यसलाई सधैंका लागि अन्त्य गर्न सकिन्छ?
अनुसन्धानको मुख्य निष्कर्ष
एम्स का बायोटेक्नोलोजी विभागका वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि डेंगु भाइरसले शरीरमा रहेको विशेष प्रोटिन ‘आरबीएमएक्स’ को प्रयोग आफ्नो वृद्धि गर्नका लागि गर्छ। यही प्रोटिनको मद्दतले भाइरस फैलिन्छ। तर हाम्रो शरीरमा रहेको एक सुरक्षात्मक अणु ‘एमआईआर-१३३ए’ भने ‘आरबीएमएक्स’ र डेंगु दुवैको वृद्धि रोक्ने काम गर्छ।
भाइरसको चालाकीको पर्दाफास
‘जर्नल अफ मेडिकल भाइरोलोजी’, मा प्रकाशित अनुसन्धान अनुसार, डेंगु भाइरस शरीरमा प्रवेश गरे पछि केही घण्टा भित्र नै ‘एमआईआर -१३३ए’ लाई कमजोर बनाउँछ, जसका कारण ‘आरबीएमएक्स’ बढ्छ र भाइरसले छिट्टै आफ्नो प्रतिलिपि बनाउन थाल्छ। यसलाई शरीर भित्रको ‘रस्साकसी’ भन्न सकिन्छ । एकातिर भाइरस आफ्नो संख्या बढाउन तान्ने गर्छ भने अर्का तिर प्रतिरक्षा प्रणालीले रोक्ने प्रयास गर्छ ।
प्रयोगशालामा सफलता
एम्स का प्रमुख वैज्ञानिक डा. भूपेन्द्र वर्मा का अनुसार, जब संक्रमित कोषहरूमा ‘एमआईआर-१३३ए’ को मात्रा कृत्रिम रूपमा बढाइयो वा ‘आरबीएमएक्स’ लाई ब्लक गरियो, भाइरसको वृद्धि रोकियो। यसबाट स्पष्ट हुन्छ कि यदि शरीरमा ‘एमआईआर-१३३ए’ को स्तरलाई बलियो बनाइयो वा ‘आरबीएमएक्स’ लाई नियन्त्रण गरियो भने भाइरसलाई सजिलै रोक्न सकिन्छ।
उपचारमा नयाँ आशा
वैज्ञानिकहरूले भनेका छन् कि हाल डेंगु रोक्ने कुनै विशेष औषधि छैन र उपचार लक्षणको आधारमा मात्र हुन्छ। तर, यो खोजले भविष्यमा यस्तो औषधि बनाउन सकिने सम्भावना देखाएको छ जसले भाइरसलाई सुरुवाती चरणमै नष्ट गर्न सक्छ। यसका लागि अझै समय र थप अनुसन्धान आवश्यक भए पनि, एक दिन डेंगुलाई जडैबाट उन्मूलन गर्ने सपना पूरा हुन सक्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस