कोभिड र लकडाउनका कारण दिमागमा नकारात्मक असर, स्वस्थ मानिसको मस्तिष्क पनि चाँडै बुढो भयो


हालै गरिएको एक अनुसन्धान अनुसार, कोभिड-१९ महामारीको समयमा, संक्रमित नभएका स्वस्थ मानिसहरूको मस्तिष्क समेत सामान्य भन्दा छिटो बुढो हुने प्रक्रिया देखिएको छ।

नेचर कम्युनिकेशन्स  मा प्रकाशित यस अनुसन्धानमा युकेको बायोबैंक का १५,३३४ जना स्वस्थ वयस्क (औसत उमेर ६३ वर्ष) का मस्तिष्क स्क्यानको विश्लेषण गरिएको हो।

अघिल्ला अनुसन्धानहरूले सार्स-कोभिड-२ संक्रमणका कारण वृद्ध मानिसमा स्नायु क्षयीकरण (न्युरो डिजेनरेसन) र स्मरण शक्ति घट्ने समस्या देखाएको भए पनि, यो नयाँ अध्ययनले महामारी कै कारण सामाजिक अलगाव, जीवन शैलीमा अवरोध र तनावले मस्तिष्कको उमेर बढ्ने प्रक्रियामा कस्तो असर पारेको हो भन्नेमा ध्यान केन्द्रित गरेको छ।

अनुसन्धानकर्ताहरूले मस्तिष्क स्क्यानमा उमेर बढ्ने गति तीव्र भएको पत्ता लगाए, जुन विशेष गरी वृद्ध व्यक्ति, पुरुष र सामाजिक आर्थिक रूपमा कमजोर पृष्ठभूमिका मानिसमा बढी देखियो।

तर सोच्ने र सम्झने क्षमता घट्ने लक्षण भने केवल कोभिड बाट संक्रमित भएका व्यक्तिहरूमा मात्र पाइयो। यसको अर्थ, मस्तिष्क छिटो बुढो हुँदैमा संज्ञानात्मक क्षमतामा अनिवार्य रूपमा कमी आउँछ भन्ने छैन।

पुरुषमा बढी प्रभाव

अध्ययनले देखायो कि पुरुषको मस्तिष्कको उमेर महिला भन्दा औसत २.५ महिना बढी छिटो बढेको थियो। अनुसन्धानकर्ताहरूको अनुमान अनुसार, पुरुष केही प्रकारका मानसिक तनाव र स्वास्थ्य चुनौतीप्रति बढी संवेदनशील हुन सक्छन्।

महामारीका समयमा मनोवैज्ञानिक तनाव, सामाजिक अलगाव, दैनिक दिनचर्यामा अवरोध र शारीरिक गतिविधि कमी जस्ता कारणहरूले संयुक्त रूपमा यस्तो असर पारेको हुन सक्छ।

ब्रिटेनको नटिङ्घम विश्वविद्यालयका न्युरोइमेजिङ्ग अनुसन्धानकर्ता तथा सह लेखक अली रेजा मोहम्मदी नेजादका अनुसार, मस्तिष्कको स्वास्थ्य केवल रोगबाट मात्र नभई मानिसले व्यतीत गरेका जीवन अनुभवहरूले पनि प्रभावित हुन्छ।

अध्ययनले देखाएको छ कि महामारीका कारण मस्तिष्कको उमेर बढ्ने दरमा औसत ५.५ महिना को तीव्रता आएको थियो, जसमा पुरुष–महिला बीचको अन्तर करिब २.५ महिना मात्र थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!