क्षयरोग अन्त्यका लागि अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन डब्लुएचओ को आह्वान, नेपालको ‘टिबी मुक्त पालिका’ अभियानको प्रशंसा

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्षयरोग (टिबी) अन्त्यका लागि अनुसन्धान, नवप्रवर्तन र अन्तरदेशीय सहकार्यमा तत्कालिक रूपमा व्यापक लगानी आवश्यक रहेको बताउँदै दक्षिण पूर्वी एसियाली क्षेत्रलाई त्यस तर्फ गम्भीर ध्यान दिन आग्रह गरेको छ।
यस सन्दर्भमा नेपालले सञ्चालन गर्दै आएको ‘टिबी मुक्त पालिका’ अभियानलाई सामाजिक र समुदाय आधारित नवप्रवर्तनको उदाहरणका रूपमा प्रशंसा गरिएको छ।
डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयद्वारा आयोजित तीन दिने भर्चुअल कार्यशालामा सहभागी विज्ञ, राष्ट्रिय कार्यक्रम प्रमुख, अनुसन्धानकर्ता र साझेदार संस्थाहरूले ‘टिबी अन्त्यका लागि अनुसन्धान र नवप्रवर्तन’ को गति तीव्र बनाउनका लागि क्षेत्रीय स्तरमा आवश्यक रणनीतिहरूमा छलफल गरिरहेका छन्।
क्षयरोग अझै पनि प्रमुख मृत्युको कारण
क्षयरोग हाल पनि संसारकै एकल संक्रामक रोगका कारण हुने मृत्युको प्रमुख कारण हो। सन २०२३ मा मात्र दक्षिण पूर्वी एसियाली क्षेत्रमा झण्डै ५० लाख नयाँ टिबी संक्रमित फेला परे भने करिब ६ लाखको मृत्यु भएको डब्लुएचओको तथ्याङ्कले देखाएको छ।
डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय की कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमेले भनिन, -‘टिबी अन्त्यका लागि अनुसन्धान र नवप्रवर्तनमा तिव्रता ल्याउनु आजको अत्यावश्यकता हो। सबैका लागि समान र समय मै नयाँ प्रविधि, औषधि र उपकरणहरूको पहुँच सुनिश्चित नगरे सम्म टिबी अन्त्यको लक्ष्य अधुरो रहन्छ।’
कोभिड पछिको असर, असमानता र आर्थिक भार
कोभिड–१९ महामारीपछि केही प्रगति भए पनि टिबी पुनः मानव जातिको मुख्य संक्रामक घातक रोग बनेको छ। यसले विशेष गरी गरिब, सीमान्तकृत र कमजोर समुदायमा बढी असर पारिरहेको छ। डब्लुएचओका अनुसार यस क्षेत्रमा ३०% देखि ८०% टिबी प्रभावित परिवारहरूले ‘विपत्तिजन्य खर्च’ भोगिरहेका छन्।
प्रगति त देखिएको छ, तर लक्ष्य अझै टाढा
हालैका वर्षहरूमा केही महत्त्वपूर्ण प्रगति भएका छन्। २०२३ मा ३८ लाख नयाँ वा दोहोरिएका केसहरू सूचित भए, र २०२२ मा उपचार सुरु गरेका बिरामीहरूमध्ये ८९% को उपचार सफल भएको थियो। यस अवधिमा छुटिएका केसहरूको दर पनि ४४% बाट घटेर २२% मा झरेको छ।
नवीन उपाय र प्रविधिहरूको प्रयोग
क्षेत्रीय देशहरूले नवीन उपायहरू प्रयोग गर्न थालेका छन्। कृत्रिम बौद्धिकता (एआई), कम्प्युटर आधारित निदान, डिजिटल उपचार अनुगमन प्रणाली र बिरामीलाई प्रत्यक्ष लाभ हस्तान्तरण (डाइरेक्ट बेनिफिट ट्रान्सफर) जस्ता उपायहरू प्रभावकारी देखिएका छन्।
बंगलादेशले बिरामीहरूको खर्च अध्ययन सम्पन्न गरेको छ भने भारतको ‘आएएटिआइओएनएस’ अध्ययनले पोषण र टिबीको सम्बन्ध बारे विश्वव्यापी नीतिगत सन्दर्भ प्रदान गरेको छ ।
नेपालको ‘टिबी मुक्त पालिका’ अभियानको उदाहरण
डब्लुएचओ दक्षिण पूर्वी एसिया द्वारा जारी विज्ञप्तिमा नेपालको ‘टिबी मुक्त पालिका’ पहल लाई सशक्त सामुदायिक नवप्रवर्तनको उदाहरणको रूपमा प्रस्तुत गरिएको छ। यसले स्थानीय तहमा बहुक्षेत्रीय समन्वय मार्फत जोखिममा परेका समूहहरूलाई लक्षित गर्दै व्यक्ति केन्द्रित उपचार सेवा पुर्याउन सहयोग गरेको डब्लुएचओको भनाइ छ।
अनुसन्धानको उत्पादन प्रयोगमा चुनौती
पछिल्ला ६ वर्षमा सदस्य राष्ट्रहरूले ३ हजार भन्दा बढी टिबी सम्बन्धी अनुसन्धान लेखहरू प्रकाशित गरेका छन्, जसमा ६०% मौलिक अनुसन्धान छन्। तर, अनुसन्धानका परिणामको प्रयोग र साझा उपयोगका लागि आवश्यक प्लेटफर्मको अभाव र ज्ञानको खाडलले चुनौती थपेको डब्लुएचओको निष्कर्ष छ।
‘हाम्रो प्रगति असमान छ। अनुसन्धान र नव प्रवर्तनको क्षमता क्षेत्र भरि फरक–फरक छ, र धेरै अनुसन्धान परिणामहरू सहकार्यका लागि उपलब्ध छैनन्,’ डा. बोहेमेले भनिन् -‘औषधि प्रतिरोधी टिबीको बढ्दो जोखिमले स्थिति अझै गम्भीर बनाइरहेको छ।’
कार्यशालाको प्राथमिकता र प्रतिबद्धता
कार्यशालामा दक्षिण दक्षिण सहकार्य, खोपको तयारी, डिजिटल उपकरण, खोप हिचकिचाहट हटाउने उपाय, सामाजिक निर्धारकहरू (कुपोषण, जलवायु परिवर्तन) लगायत विषयमा कार्यान्वयन उन्मुख अनुसन्धान प्राथमिकतामा रहेको जनाइएको छ।
डा. बोहेमेले निष्कर्षमा भनिन- ‘टिबी अन्त्यका लागि गरिएका प्रयासहरू सबैको पहुँचमा समान रूपमा पुग्नु पर्छ, खोप, औषधि, परीक्षण उपकरण सबैमा।’
डब्लुएचओले सदस्य राष्ट्रहरूको राजनीतिक प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्न नवप्रवर्तन, समावेशिता र सहकार्यमा आधारित सहयोग निरन्तर रहने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस