स्वर्णप्राशन कार्यक्रम स्थगन गर्न नेपाल पेडियाट्रिक सोसाइटीको माग

काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी ले सरकारद्वारा बालबालिकालाई ‘इम्युन बुस्टर’ को रूपमा स्वर्णभस्म/स्वर्णकल्प (स्वर्ण प्रासन) खुवाउने अभियान प्रति औपचारिक असहमति जनाएको छ ।
सोसाइटीले सार्वजनिक गरेको स्थिति पत्रमा हाल सम्म वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र नियामक स्पष्टता अपर्याप्त रहेको भन्दै यो अभियान तत्काल स्थगन गर्न सरकारसँग आग्रह गरेको हो।
पेडियाट्रिक सोसाइटीका अनुसार, शिशुहरूको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन स्वर्णकल्प प्रभावकारी हुन्छ भन्ने आधार अझै उपलब्ध छैन। बरु, यसमा रहेको गह्रौ धातु (हेभी मेटल) सुन का कारण सम्भावित जोखिम, बजारमा उपलब्ध केही आयुर्वेदिक उत्पादनमा सिसा, पारो, आर्सेनिक जस्ता धातु भेटिएको तथ्य र बाल शिशा विषाक्तता दर्ता भएको पृष्ठभूमिमा यो अभियान अगाडि बढाउनु खतरनाक हुन सक्ने चेतावनी दिएको छ।
यस्तै, औषधि व्यवस्था विभाग द्वारा आवश्यक दर्ता प्रमाणपत्र, गुणस्तरीय परीक्षण (ब्याच टेस्टिङ) र सर्टिफिकेट अफ एनालसिस सार्वजनिक नभए सम्म बालबालिकालाई यस्ता पदार्थ दिन नमिल्ने निष्कर्षमा संस्था पुगेको छ।
नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. अरुण कुमार न्यौपानेका अनुसार, ‘बालबालिकाको स्वास्थ्य संवेदनशील विषय भएकाले वैज्ञानिक प्रमाण, सुरक्षा र नियामक पारदर्शिता नआएसम्म यो अभियान अगाडि बढाउनु उपयुक्त हुँदैन।’
पेडियाट्रिक सोसाइटी को सिफारिस
- स्वर्णभस्म/स्वर्णकल्प वितरण कार्यक्रम तत्काल स्थगन गर्नुपर्ने।
- औषधि व्यवस्था विभागले दर्ता, परीक्षण र नियामक पारदर्शिता स्पष्ट पार्नु पर्ने।
- यदि शिशुलाई लक्षित कार्यक्रम भए उमेर अनुसार चेतावनी अनिवार्य राख्नु पर्ने।
- प्रयोग गर्नु अघि उच्चस्तरीय अध्ययन अनुसन्धान र सुरक्षा प्रमाण आवश्यक पर्ने।
- सरकारले प्राथमिक स्रोत साधन स्तनपान, खोप, भिटामिन ए, जिङ्क, पोषण र सरसफाइमा लगानी बढाउनुपर्ने।
अभिभावक र चिकित्सकलाई सन्देश
- एक वर्षमुनिका शिशुलाई मह दिनु हुँदैन।
- स्वर्णभस्म/स्वर्णकल्पको ‘इम्युन बुस्ट’ दाबी बारे अझै प्रमाण नभएकाले सावधानी अपनाउनु पर्छ।
- बाल स्वास्थ्यका लागि स्तनपान, खोप, पोषण, स्वच्छता र उपचार नै प्रमाणित उपाय हुन्।
- यस्ता पदार्थ सेवन पछि कुनै प्रतिकूल असर देखिए तत्काल नजिकैको बालरोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्ने।
प्रतिक्रिया दिनुहोस