‘परम्परा र विज्ञानको संगम : नेपालमा सुरु भयो राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम’
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने - 'बालबालिकाको प्रतिरक्षा क्षमता र बौद्धिक विकासका लागि स्वर्णप्राशन'

धनगढी (कैलाली) – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले धनगढी बाट राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको प्रतिरक्षा क्षमता वृद्धि गर्दै बौद्धिक र शारीरिक विकासलाई सुदृढ बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए ।
प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै कार्यक्रम प्रारम्भ गरेका थिए।
स्वास्थ्यमन्त्री पौडेलले स्वर्णप्राशन लाई प्राचीन आयुर्वेदिक ज्ञान र आधुनिक विज्ञानसँग जोड्न सकिने विश्वास व्यक्त गर्दै भने, ‘हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकृत गर्न सकेमा स्वस्थ र मेधावी पुस्ता निर्माणमा टेवा पुग्नेछ।’
उनका अनुसार रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने प्रणाली विकास गर्नु सरकारले प्राथमिकता दिएको छ। यसैका लागि आगामी पुस्तालाई निरोगी बनाउन प्रवर्द्धनात्मक तथा निरोधात्मक स्वास्थ्य प्रणालीलाई आयुर्वेदसँग जोडेर देशव्यापी रूपमा प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरिने बताइयो।
यस अघि मन्त्री पौडेलले आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने क्रममा राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति २०८१–२०९१ स्वीकृत, सिंहदरबार वैद्यखानाको पुनर्संरचना, प्रथम पञ्चवर्षीय रणनीतिक योजना (२०८२–२०८७) सार्वजनिक, औषधि उत्पादन गुणस्तर वृद्धि, निर्यात प्रवर्द्धन, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र सञ्चालन, र नियमावली संशोधन जस्ता पहल अघि बढाइ सकेका छन्।
के हो स्वर्ण बिन्दु प्राशन?
आयुर्वेद विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार, स्वर्ण बिन्दु प्राशन करिब पाँच हजार वर्ष पुरानो काश्यप संहितामा आधारित विधि हो। प्रशोधित स्वर्ण भस्मले रोग प्रतिरोधात्मक क्षमता सन्तुलनमा ल्याउँछ भने ब्राह्मी घृतले स्नायु कोषको सुरक्षा र स्मरण शक्ति बढाउँछ। मह प्राकृतिक जीवाणुरोधी तत्व भएकाले संक्रमण रोकथाममा सहयोग पुर्याउँछ।
उनले यसलाई ‘अन्धविश्वास होइन, हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान’, भन्दै आधुनिक अनुसन्धानहरूले पनि यसको प्रभावकारिता पुष्टि गरिरहेको बताए।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलका अनुसार, स्वर्णप्राशन आधुनिक दृष्टिकोणबाट नानो-मेडिसिन र न्युरो-इम्युनोमोडुलेटर फर्मुलेसन हो। स्वर्ण भस्मका नानो कणहरूले प्रतिरक्षा प्रणालीलाई सन्तुलनमा ल्याउँछन् भने ब्राह्मी, शंखपुष्पी जस्ता जडीबुटीले मस्तिष्कको क्षमता वृद्धि गर्छन्।
अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा निर्देशिका
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परम्परागत चिकित्सालाई प्रमाणमा आधारित प्रणाली मार्फत राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न प्रोत्साहित गर्दै आएको छ। भारतमा स्वर्णप्राशनलाई बाल स्वास्थ्य अभियानको अंग बनाइएको छ भने चीन, जर्मनी, अष्ट्रेलिया लगायत देशमा आयुर्वेदिक उपचारलाई पूरक स्वास्थ्य सेवाको रूपमा मान्यता दिइएको छ।
नेपालमा यो कार्यक्रमलाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका २०८२ स्वीकृत गरिसकेको छ। निर्देशिकाले मिश्रण तयार गर्ने विधि, मात्रा, भण्डारण, खुवाउने प्रक्रिया र स्वास्थ्यकर्मीको भूमिकाबारे स्पष्ट व्यवस्था गरेको छ।
सरकारको विश्वास अनुसार, यस कार्यक्रमले परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्दै नागरिकलाई वैकल्पिक उपचार पद्धतिमा पहुँच विस्तार गर्न मद्दत गर्नेछ।
प्रतिक्रिया दिनुहोस