७८औं विश्व स्वास्थ्य सभा: नयाँ विश्वव्यापी परम्परागत चिकित्सा रणनीति पारित

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७८औं विश्व स्वास्थ्य सभामा सदस्य राष्ट्रहरूले सन २०२५ देखि २०३४ सम्म लागू हुने नयाँ विश्व व्यापी परम्परागत चिकित्सा रणनीतिमा सहमति जनाएका छन ।
यो रणनीतिले परम्परागत, परिपूरक र समायोजित चिकित्सा (ट्रेडिसनल कम्पलीमेन्टरी एन्ड इन्टिग्रेटीभ मेडिसिन /टिसीआईएम) अभ्यासलाई प्रमाणमा आधारित बनाउँदै अर्को दशक सम्मका लागि मार्गदर्शन गर्नेछ।
रणनीति निर्माणको क्रममा सदस्य राष्ट्रहरू बीच विविध विषयमा छलफल भएको थियो, जसमा परम्परागत चिकित्सा अभ्यासको लागि बलियो प्रमाणहरू विकास गर्ने, नियमन तथा सुरक्षाका प्रणालीहरू बनाउने, जहाँ उपयुक्त हुन्छ त्यहाँ एकीकृत स्वास्थ्य सेवा मोडेलहरू विकास गर्ने र दक्ष चिकित्सकहरूको सुनिश्चितता गर्ने जस्ता विषयहरू समावेश छन्।
यो रणनीतिले आदिवासी समुदायको परम्परागत ज्ञानको भूमिकालाई स्पष्ट रूपमा मान्यता दिएको छ र उनीहरूको अधिकारको संरक्षण सँगै पर्यावरणीय दिगोपन तथा जैविक विविधताको संरक्षणलाई टिसीआईएम सन्दर्भमा प्रोत्साहन गर्नेछ।
सन २०२५–२०३४ रणनीति अनुसार डब्लुएचओले सदस्य राष्ट्रहरूलाई टिसीआईएम को प्रमाण आधार बलियो बनाउने, सुरक्षा, गुणस्तर तथा प्रभावकारिता अभिवृद्धि गर्ने र जहाँ उपयुक्त हुन्छ त्यहाँ स्वास्थ्य प्रणालीमा यसको एकीकरण गर्न सहयोग पुर्याउनेछ। साथै, विभिन्न क्षेत्रीय साझेदारहरू बीचको समन्वयलाई पनि सुदृढ बनाइनेछ।
रणनीतिको कार्यान्वयन तथा अनुगमन प्रमुख पक्षहरू हुन्। डब्लुएचओले सदस्य राष्ट्रहरूलाई यस रणनीति कार्यान्वयन र स्थानीय सन्दर्भ अनुसार अनुकूलन गर्न प्राविधिक मार्गनिर्देशन तथा सहयोग प्रदान गर्नेछ।
यो नयाँ रणनीतिले दिगो विकास लक्ष्यहरू (एसडीजी) र सार्वभौमिक स्वास्थ्य सेवा पहुँच (युएचसी) सन्दर्भमा टिसीआईएम को पूर्ण सम्भावना उपयोग गर्दै विश्व स्वास्थ्य र कल्याणमा सुधार ल्याउने उद्देश्य राखेको छ।
प्रतिक्रिया दिनुहोस