सगरमाथा संवादको कार्यसूचीमा उच्च पर्वतीय प्लास्टिक प्रदूषण समावेश गर्नु अत्यावश्यक

माइक्रोप्लास्टिक्स, पाँच मिलिमिटरभन्दा साना प्लास्टिक कणहरू, ठूला प्लास्टिक वस्तुहरूको विखण्डनबाट वा विशेष प्रयोजनका लागि उत्पादन गरिन्छन्। ती मानव गतिविधिका कारण वायुमण्डल, जल, माटो र जीवजन्तुमा व्यापक रूपमा फैलिएका छन्।
हालको एक अध्ययन अनुसार, १०९ देशहरू मध्ये विशेष गरी एशियाली मुलुकहरूका बासिन्दाले दैनिक सबैभन्दा धेरै माइक्रोप्लास्टिक सेवन गरिरहेका छन्। जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा यसका असरहरूलाई ध्यानमा राख्दै, माइक्रोप्लास्टिक्सको समस्या समाधानका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा तत्काल र सशक्त कदम चाल्नु आवश्यक छ।
हिमालको शुद्ध हिउँ र पानी, मानव रगत, फोक्सो, दूध र प्लासेन्टा (सालनाल) मा समेत माइक्रोप्लास्टिक भेटिनु यसको गम्भीरता देखाउने उदाहरण हो।
यो प्रदूषणले तल्लो भेगका खाद्य प्रणाली, पानी आपूर्ति र जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ। यस्तो अवस्थामा प्लास्टिक उत्पादनमा कटौती, फोहोर व्यवस्थापनमा सुधार, र दिगो विकल्पहरूको प्रवर्द्धन गर्न सार्वजनिक नीतिमा स्पष्ट र ठोस प्रतिबद्धता आवश्यक छ।
विशेषतः आगामी संयुक्त राष्ट्रसंघीय प्लास्टिक महासन्धिमा उच्च पर्वतीय प्लास्टिक प्रदूषणको मुद्दालाई समावेश गर्न जोडदार माग उठ्नु पर्छ। यद्यपि नेपाली प्रतिनिधिहरू ले सगरमाथा क्षेत्रको प्रदूषणबारे आवाज उठाउँदै आएका छन्, महासन्धिको हालको मस्यौदा र छलफलको दस्तावेजमा यो विषय समावेश नहुनु दुर्भाग्यपूर्ण छ।
यो सन्धि सन् २०२५ अगस्टमा अनुमोदन हुने प्रस्तावमा रहेको छ, त्यसअघि नै नेपालले यो मुद्दा पुरजोर रूपमा उठाउनु अनिवार्य छ।
सगरमाथा र उच्च हिमाली क्षेत्रमा बढ्दो प्लास्टिक प्रदूषण
सगरमाथा अझै पनि शुद्ध र सफा वातावरणको प्रतीक मानिन्छ। तर, बढ्दो पर्यटन र पर्वतारोहण गतिविधिहरूका कारण यहाँ ठूलो मात्रामा प्लास्टिक फोहोर जम्मा हुँदैछ। हालैको एक अनुसन्धानले सगरमाथाको ८४४० मिटर उचाइसम्मको बर्फ र पानीमा माइक्रोप्लास्टिक कणहरूको उपस्थितिको पुष्टि गरेको छ । बर्फमा प्रति लिटर ३० र पानीमा प्रति लिटर १ कण पाइएको छ, जुन अधिकांश रेशा स्वरूपका छन्।
हिमाली क्षेत्रको यस्तो प्रदूषण सँगै, परावर्तीत शक्ति (अल्बेडो प्रभाव) घट्दो क्रममा छ। सफा हिउँले सूर्यको ८०–९०% प्रकाश परावर्तीत गर्न सक्ने क्षमता राख्दछ, तर प्लास्टिक मिसिएको हिउँले त्यो शक्ति गुमाउँछ, जसले ताप अधिक सोस्न थाल्छ र बर्फ छिटो पग्लन थाल्छ। यसले हिमतालहरूको असामान्य वृद्धि र तिनीहरूको फुटाइबाट बाढी (ग्लोफ) को जोखिम बढाउँछ, जसका प्रमाणहरू विगतमा नेपाल भित्र पटक पटक देखिइसकेका छन्।
जलवायु परिवर्तन र प्लास्टिक प्रदूषणको दोहोरो असर
हिमाली प्लास्टिक प्रदूषणका प्रमुख स्रोतहरू पर्वतारोहणका कपडाहरू, उपकरणहरू र हावाबाट उडेर आएका फोहोर वस्तुहरू हुन्। सगरमाथाबाट संकलित बर्फ र पानीमा पाइएका माइक्रोप्लास्टिक्सले यो यथार्थ पुष्टि गर्छ।
तापक्रम वृद्धि र प्रदूषित हिउँको कम अल्बेडो प्रभावले हिमाली पारिस्थितिकी प्रणालीमा दोहोरो दबाब सिर्जना गरिरहेको छ।
नेपाल विश्वको हरितगृह ग्यास उत्सर्जनमा न्यूनतम योगदानकर्ता मध्ये पर्छ। तर, विकसित देशहरूबाट उत्सर्जित ग्यासले निम्त्याएको जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा गम्भीर असर पुर्याइरहेको छ।
सगरमाथाको प्रदूषण र जलवायु प्रभावहरूको सन्दर्भमा, काठमाडौंमा १६–१८ मे २०२५ मा आयोजना हुने ‘सगरमाथा संवाद’ (एवरेस्ट डाइलग) मा ‘जलवायु परिवर्तन, पहाड र मानव भविष्य’ विषयमा विशेष छलफल गरिँदैछ। यस अवसरमा उच्च पर्वतीय प्लास्टिक प्रदूषणको विषयलाई केन्द्रमा राख्नु पर्ने समय आएको छ।
विकसित देशका आरोहीहरूको भूमिका र जवाफदेहीता
नेपाल सरकारको पर्यटन विभागद्वारा प्रकाशित ‘नेपालमा पर्वतारोहणका तथ्यांक २०२४’ अनुसार सन् २०२३ मा ६५९ जनाले सगरमाथाको सफल आरोहण गरे, जसमध्ये ५९% नेपाली, २१% विकसित देशहरूका, र २०% अन्य देशका थिए। नेपाली मध्ये धेरैजसो विकसित देशका पर्वतारोहण टोलीका सहयोगी वा गाइड थिए।
यसरी उच्च हिमाली क्षेत्रमा प्लास्टिक फोहोरको मुख्य कारण बनिरहेका विदेशी आरोहीहरू, जो उच्च कार्बन उत्सर्जन र प्लास्टिक प्रयोगमा समेत अगाडि छन्, तिनीहरूलाई पनि उत्तरदायी बनाउन आवश्यक छ। उनीहरूले छाडेर गएको प्रदूषणको असर सगरमाथा र त्यस क्षेत्रको वातावरणमा मात्र नभई सम्पूर्ण हिमाली जनजीवनमा पर्दछ।
‘सगरमाथा संवाद’मा उच्च पर्वतीय प्लास्टिक प्रदूषणलाई अनिवार्य मुद्दा बनाऔं
‘सगरमाथा संवाद’ उच्च हिमाली क्षेत्रको जलवायु चुनौती माथि विचार–विमर्श गर्ने प्लेटफर्म हो। यदि यस संवादमा प्लास्टिक प्रदूषणको विषय समावेश गरिएन भने संवाद अपुरो हुनेछ।
त्यसैले, जनस्वास्थ्य र वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) को तर्फबाट हामी यो माग गर्दछौं कि सगरमाथा लगायत उच्च पर्वतीय प्लास्टिक प्रदूषणलाई यस संवादको एजेन्डा बनाइयोस् र संयुक्त राष्ट्रसंघीय प्लास्टिक महासन्धिमा यसको स्पष्ट समावेशको लागि नेपाल सरकारले निर्णायक कूटनीतिक पहल गरोस्।(वातावरण वैज्ञानिक राम चरित्र साह जनस्वास्थ्य र वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक हुन)
प्रतिक्रिया दिनुहोस