संसदमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग : स्वास्थ्य सचिव नियुक्तिमा विभेदको आरोप

काठमाडौं – प्रतिनिधि सभामा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ।
बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले मन्त्री पौडेललाई पदबाट हट्नु पर्ने माग गरे।
उनले स्वास्थ्य मन्त्रालयको सचिव पदमा सिनियर भए पनि डा. संगीता मिश्रलाई मधेसी र महिला भएकै कारण बढुवा नगरिएको गम्भीर आरोप लगाउँदै यो विभेद सह्य नहुने बताए।
‘योग्यता, अनुभव र सिनियरिटी हुँदा हुँदै पनि जातीय पहिचानका कारण अवसरबाट बञ्चित गरिनु दु:खद छ,’ सांसद सिंहको भनाइ थियो।
सचिव पदका लागि मन्त्रिपरिषद्ले गत बुधबार साँझ डा. विकास देवकोटा लाई बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा समितिले गत साता नै स्वास्थ्य सचिवका लागि योग्यता क्रम अनुसार क्रमश: डा. संगिता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटी गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।
सांसद सिंहको आरोप पछि मन्त्री पौडेलको यो विषय मा स्पष्ट प्रतिक्रिया आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस