लुम्बिनीबाट प्रकृति संरक्षणको सन्देश, ‘वाटर वुमन’ शिप्रा पाठक द्वारा शिक्षा र वातावरण बीच सन्तुलनमा जोड
लुम्बिनी – लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय संगोष्ठीमा शिक्षा, संस्कृति र वातावरण संरक्षणको अन्तर सम्बन्ध माथि घनीभूत बहस भएको छ। कार्यक्रममा मुख्य वक्ताको रूपमा बोल्दै भारतीय वातावरण अभियन्ता तथा ‘वाटर वुमन’ शिप्रा पाठकले प्रकृति प्रति उत्तरदायी नागरिक निर्माणका लागि वर्तमान शैक्षिक प्रणाली मै वातावरणीय नैतिकता र सांस्कृतिक चेतना समेट्नु पर्नेमा जोड दिएकी छन। म्यानमार, श्रीलंका, चीन र जापान सहित विभिन्न देशका शिक्षाविद्हरूको सहभागिता रहेको उक्त कार्यक्रममा जलवायु परिवर्तनको चुनौती सामना गर्न साझा सांस्कृतिक चेतना ब्युँताउनु पर्ने निष्कर्ष निकालिएको छ।
सम्बोधनका क्रममा पाठकले शिक्षा केवल ज्ञान हासिल गर्ने प्रक्रिया नभई वातावरण प्रति उत्तरदायी नागरिक निर्माण गर्ने आधार भएको बताइन। उनले भावी पुस्तालाई प्राकृतिक स्रोत प्रति संवेदनशील बनाउन शैक्षिक प्रणालीमै वातावरणीय नैतिकता र सांस्कृतिक चेतनालाई समेट्नु पर्ने धारणा राखिन।
उनले भारतीय र नेपाली परम्परामा प्रकृतिलाई जीवनको आधारका रूपमा स्वीकार गरिएको उल्लेख गर्दै वेद देखि बौद्ध साहित्य सम्म नदी, वन र पर्वतलाई आध्यात्मिक तथा सांस्कृतिक चेतनासँग जोडेर हेर्ने परम्परा रहेको बताइन। उनका अनुसार साहित्यमा प्रकृति प्रतिको संवेदना जीवित रहँदा त्यसको प्रभाव सामाजिक व्यवहारमा समेत देखिन्छ।
आफ्ना वातावरणीय अभियान बारे चर्चा गर्दै पाठकले हाल सम्म १३ हजार किलोमिटर पदयात्रा र ५८ लाख वृक्षारोपण अभियान मार्फत जनचेतना फैलाउने प्रयास गरिएको जानकारी दिइन। भारतका सात वटा नदी संरक्षणसँग सम्बन्धित अभियानमा संलग्न रहेको बताउँदै उनले यस अघि लन्डन संसद सहित जापान, हङकङ, इन्डोनेसिया, थाइल्यान्ड र श्रीलंकामा पनि वातावरणीय संवाद गरिसकेको उल्लेख गरिन।
लुम्बिनीलाई धार्मिक केन्द्र मात्र नभई मानव र प्रकृतिको सह अस्तित्वको प्रतीकका रूपमा व्याख्या गर्दै पाठकले बुद्धका शिक्षाले सन्तुलित र प्रकृति मैत्री जीवनशैलीको प्रेरणा दिने बताइन।
उनले नेपाल र भारत बीचको सम्बन्ध साझा सांस्कृतिक र आध्यात्मिक विरासतमा आधारित रहेको उल्लेख गर्दै प्रकृति र सभ्यताले दुवै देशलाई ऐतिहासिक रूपमा जोडेको धारणा व्यक्त गरिन।
जलवायु परिवर्तन, नदी प्रदूषण र वन क्षेत्रको क्षयीकरण प्रति चिन्ता व्यक्त गर्दै पाठकले वातावरण संरक्षणलाई केवल पर्यावरणीय मुद्दा नभई सामाजिक र सांस्कृतिक दायित्वका रूपमा ग्रहण गर्नुपर्ने बताइन। कार्यक्रमको अन्त्यमा उनले स्वच्छ नदी, हरियाली वातावरण र संरक्षण गरिएका वनसहित शिक्षा र संस्कृति मार्फत प्रकृति संरक्षणलाई सामाजिक अभियानका रूपमा विकास गरिएको लुम्बिनीको परिकल्पना प्रस्तुत गरिन।

प्रतिक्रिया दिनुहोस