सेतो कोटभित्रको रङ्गीन संसार: डा. सबिना श्रेष्ठको क्यानभासमा पोखिएको भावना
काठमाडौँ – अस्पतालको चिसो स्टेथोस्कोप र आँखाका सुक्ष्म नानीहरू नियाल्ने चिकित्सकका औँलाहरू जब ब्रस र रङसँग खेल्न थाल्छन, तब एउटा जीवन्त संसारको जन्म हुन्छ । बबरमहल स्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा यति बेला यस्तै एउटा अद्भुत रङ्गीन उत्सव चलिरहेको छ।
वरिष्ठ आँखा रोग विशेषज्ञ तथा प्राध्यापक डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी शनिबार देखि सुरु भएको छ। वरिष्ठ चित्रकार हरिप्रसाद शर्माद्वारा समुद्घाटन गरिएको यस कला यात्रामा डा. सविनाका १२५ वटा सिर्जनाहरूले दर्शकलाई एउटा छुट्टै दुनियाँको सयर गराइरहेका छन्।
एउटा झुक्क्याउने संयोग: रङको पुनर्जन्म
स्कुले जीवनमा केवल दुई – तीन महिना स्केच सिकेकी सविनाले आफू कहिल्यै चित्रकार बन्छु भन्ने सोचेकी पनि थिइनन्। तर सन २०१५ को ‘वर्ल्ड साइट डे’ उनका लागि एउटा मोड बन्यो। वरिष्ठ कलाकारहरूसँगको एउटा कार्यशालामा उनी सहभागी भइन्। कार्यशाला सकिए पछि बचेका रङहरू उनले मायाले पोको पारिन र घर फर्कँदा बाटोमा एउटा क्यानभास पनि सँगै किनेर लगिन्। त्यहीँ बाट सुरु भएको उनको यो ‘रङ यात्रा’ आज विविध क्यानभासको विशाल संग्रह बनेर उभिएको छ।
‘कला यस्तो क्षेत्र हो जहाँ मान्छेले आफ्ना सीमाहरू बिर्सिन्छ,’ प्रदर्शनीको उद्घाटनमा डा. सविनाले भनिन, ‘कलाकारको आफ्नै ब्रह्माण्ड हुन्छ, जहाँ वरपरको कोलाहलले कुनै अर्थ राख्दैन। यो मेरा लागि ध्यान (मेडिटेसन) जस्तै हो।’
क्यानभासमा प्रकृति र जीवनको लय
प्रदर्शनीमा राखिएका चित्रहरूमा प्रकृति, जीवन र जगतका विविध पाटाहरू समेटिएका छन्। रङहरूको सुक्ष्म मिश्रण र अमूर्त भावहरूले डा. श्रेष्ठको आन्तरिक संसारलाई अभिव्यक्त गर्छन्। चिकित्सा पेशाको व्यस्तता र दैनिक दौडधुपबाट प्राप्त हुने ‘स्ट्रेस’लाई उनी क्यानभासमा पोख्छिन र नयाँ ऊर्जा प्राप्त गर्छिन्।
बहुआयामिक व्यक्तित्व: आँखादेखि अक्षर र अक्षरदेखि रङसम्म
डा. सविनाको व्यक्तित्व केवल क्यानभासमा मात्र सीमित छैन। उनी एक कुशल लेखिका र कवि पनि हुन्। उनका तीन वटा कविता संग्रह प्रकाशित छन, आत्मसंस्मरण ‘एउटा जीवन छामेर हेर्दा’ पनि लेखेकी छिन र हालै जेल जीवन बिताइरहेका १०२ कैदीहरूको कथा समेटिएको पुस्तक ‘अकथ्यको प्रतिध्वनी’ ले उनको सामाजिक संवेदनशीलतालाई उजागर गरेको छ।
डा. श्रेष्ठ हाल काठमाडौँ मेडिकल कलेजमा प्राध्यापक छिन। यो उनको दोस्रो एकल चित्र प्रदर्शनी हो । प्रदर्शनीबाट संकलित रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ मार्फत सामाजिक कार्यमा खर्च गरिने जानकारी दिइएको छ।
पुस ३० गतेसम्म चल्ने यो प्रदर्शनीले कला प्रेमीहरूलाई मात्र होइन, व्यस्त जीवनमा आफ्नो रुचि हराएका सबैलाई एउटै सन्देश दिन्छ, ‘आफ्नो इच्छा र रुचिलाई थोरै मात्र समय दिने हो भने जीवन साँच्चै सुन्दर र रङ्गीन बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस