अनुसन्धान
दमका बिरामीमा शंका र डर: किन समयमै इनहेलर प्रयोग गर्न मान्दैनन?
काठमाडौँ – दम (अस्थमा) का धेरै बिरामीहरू सुरुवाती अवस्थामा इनहेलर प्रयोग गर्न डराउने र रोगले च्यापेपछि मात्र यसको सहारा लिने गरेको एक नयाँ अध्ययनले देखाएको छ। श्रीलङ्काको जाफना स्थित ‘टिचिङ हस्पिटल’ मा गरिएको एक गुणात्मक अध्ययनले बिरामीहरूमा इनहेलर प्रतिको दृष्टिकोण र यसले उनीहरूको जीवनमा पारेको प्रभावबारे केही रोचक तथ्यहरू बाहिर ल्याएको हो।
प्रतिष्ठित मेडिकल जर्नल ‘बीएमजे ओपन’ मा प्रकाशित उक्त अध्ययन लाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनका अनुसार, बिरामीहरूमा इनहेलर प्रयोग गर्दा यसको बानी पर्ने (लत लाग्ने) र विभिन्न नकारात्मक असरहरू (साइड इफेक्ट्स) हुन सक्ने ठूलो भ्रम रहेको पाइएको छ।
अध्ययनका मुख्य निष्कर्षहरू
५१ जना दमका बिरामीहरू माझ गरिएको छलफलका आधारमा अध्ययनले तीन वटा मुख्य चरणहरू पहिचान गरेको छ ।
- इनहेलर प्रतिको हिचकिचाहट: धेरैजसो बिरामीहरू सुरुमा इनहेलर प्रयोग गर्न अनिच्छुक देखिए। विशेष गरी परिवारका सदस्यहरूको नकारात्मक धारणा र समाजमा यसलाई ‘ठूलो रोग’ का रूपमा हेरिने डरले गर्दा उनीहरूले उपचार टार्ने गरेको पाइयो।
- डरले निम्त्याएको बाध्यता: बिरामीहरूले तब सम्म इनहेलर प्रयोग गरेनन, जब सम्म उनीहरूलाई सास फेर्न अत्यन्तै गाह्रो भएन वा अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएन। ‘मृत्युको डर’ नै धेरैका लागि इनहेलर प्रयोग गर्ने मुख्य कारण वा ‘टर्निङ प्वाइन्ट’ बनेको अध्ययनले देखाएको छ।
- अन्ततः विश्वास: एक पटक नियमित प्रयोग गर्न थाले पछि भने बिरामीहरूले आफ्नो जीवन स्तरमा ठूलो सुधार महसुस गरे। राति राम्रो सँग सुत्न पाउनु, घरायसी काम सजिलै गर्न सक्नु र दैनिक दिनचर्यामा फर्कन पाउनुले उनीहरूमा इनहेलर प्रति विश्वास जगाएको पाइयो।
पारिवारिक र सामाजिक प्रभाव
श्रीलङ्काली अनुसन्धानकर्ताहरूका अनुसार, दक्षिण एसियाली मुलुकहरूमा बिरामीको उपचार पद्धतिमा परिवारको ठूलो भूमिका हुन्छ। धेरै बिरामीले परिवार कै सल्लाहमा इनहेलर ढिलो सुरु गर्छन। साथै, सार्वजनिक ठाउँमा इनहेलर प्रयोग गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने डर (स्टिग्मा) ले पनि बिरामीहरू लुकी छिपी औषधि प्रयोग गर्न बाध्य छन।
विज्ञको सुझाव
अध्ययनले निष्कर्ष निकालेको छ कि दमको उपचार केवल औषधिमा मात्र सीमित छैन। यसका लागि बिरामी र उनीहरूका परिवारलाई सही परामर्श दिनु उत्तिकै आवश्यक छ। इनहेलरका बारेमा रहेका भ्रमहरू चिर्न सामुदायिक शिक्षा र सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने अनुसन्धान कर्ताहरूको सुझाव छ।
नेपाल जस्तो मिल्दो जुल्दो सामाजिक परिवेश भएको देशका लागि पनि यो अध्ययन सान्दर्भिक देखिन्छ। रोगले जटिल रूप लिनु अघि नै इनहेलरको सही प्रयोग गर्नाले दमका बिरामीको अकाल मृत्यु रोक्न र जीवन सहज बनाउन सकिने देखिन्छ।

प्रतिक्रिया दिनुहोस