बुढ्यौलीको चिन्ताले महिलाहरूमा शरीरको जैविक गति बढाउने अध्ययनको निष्कर्ष
काठमाडौँ- बढ्दो उमेरसँगै स्वास्थ्य बिग्रने चिन्ताले महिलाहरूको शरीरमा जैविक बुढ्यौली (बायोलोजिकल एजिङ) को गतिलाई तीव्र बनाउने एक नयाँ अध्ययनले देखाएको छ।
‘साइकोन्युरोइन्डोक्राइनोलोजी’ जर्नलमा प्रकाशित यस अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। यो अनुसन्धानले मानसिक तनाव र शरीरको डिएनए बीचको सम्बन्धलाई उजागर गरेको छ।
अमेरिकाका ७२६ महिलाहरूमा गरिएको यो अध्ययनले ‘एपिजेनेटिक एजिङ’ अर्थात कोषहरूको स्तरमा हुने परिवर्तनलाई मापन गरेको थियो। विशेष गरी स्वास्थ्य कमजोर हुने डरले मानिसको उमेर बढाउने जैविक प्रक्रियामा प्रत्यक्ष असर पुर्याउने देखिएको छ।
केमा चिन्ता, केमा छैन?
अध्ययनले तीनवटा मुख्य क्षेत्रमा हुने चिन्तालाई हेरेको थियो ।आकर्षण घट्ने डर, स्वास्थ्य बिग्रने डर र प्रजनन क्षमता अन्त्य हुने डर। अचम्मको कुरा, रूप र आकर्षण घट्ने चिन्ताले शरीरको भित्री जैविक घडीमा खासै ठूलो असर पारेको देखिएन। तर, स्वास्थ्य कमजोर हुने डर भने सिधै शारीरिकक्षय सँग जोडिएको पाइयो।
वैज्ञानिकहरूका अनुसार बुढ्यौली केवल समयको अन्तराल मात्र होइन, यो हाम्रो भोगाइ र सोचाइको परिणाम पनि हो। स्वास्थ्य बिग्रने डरले शरीरमा जैविक तनाव उत्पन्न गर्छ, जसले गर्दा मानिस आफ्नो वास्तविक उमेरभन्दा छिटो बुढो देखिन र हुन थाल्छ।
यो अध्ययनले के स्पष्ट पारेको छ भने, स्वास्थ्यका बारेमा अनावश्यक चिन्ता लिनुको सट्टा सक्रिय जीवनशैली र सकारात्मक सोच राख्नु नै जैविक रूपमा जवान रहने उत्तम उपाय हुन सक्छ।
अध्ययनका मुख्य बुँदाहरू
- स्वास्थ्यको चिन्ता र जैविक घडी: अध्ययनमा सहभागी महिलामध्ये १८.३ प्रतिशतले मात्र स्वास्थ्य बिग्रने कुनै चिन्ता नभएको बताएका थिए। बाँकीमा देखिएको स्वास्थ्य सम्बन्धी चिन्ताले शरीरको ‘ड्युनेडिन पेस’ भनिने जैविक घडीको गतिलाई बढाएको पाइयो।
- तथ्याङ्कको झलक: अध्ययनमा सहभागीहरूको औसत उमेर ५०.४ वर्ष थियो। जस मध्ये ६१.८ प्रतिशत गोरा (नन-हिस्पानिक ह्वाइट) जातिको थिए भने ४४.८ प्रतिशत स्नातक तह उत्तीर्ण थिए। ५१.८ प्रतिशतको वार्षिक पारिवारिक आम्दानी ५० हजार डलर भन्दा कम थियो।
- जीवनशैलीको भूमिका: अनुसन्धानकर्ताहरूका अनुसार चिन्ता र बुढ्यौलीको यो सम्बन्धमा धूमपान, मदिरा सेवन र शरीरको तौल (बिएमआई) ले पनि भूमिका खेल्छन। चिन्ताले गर्दा मानिसको जीवनशैली बिग्रने र त्यसले अन्ततः शरीरलाई बुढो बनाउने देखिएको छ।
- मानसिक स्वास्थ्यको असर: विगतमा एन्जाइटी वा डिप्रेसन भएका महिलाहरूमा स्वास्थ्यको चिन्ताले बुढ्यौलीको गति अझ बढी (०.१२ एसडी सम्म) बढाएको अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस