निर्वाचन सम्पन्न हुनु सिंगो देशको सफलता हो, गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ: प्रधानमन्त्री सुशीला कार्की


काठमाडौँ –  प्रधानमन्त्री सुशीला कार्कीले जटिल र अनिश्चित राजनीतिक परिस्थितिका बीच प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सिंगो देशको सामूहिक उपलब्धि भएको बताएकी छन ।

निर्वाचन सम्पन्न भएपछि उनले प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुशी लागेको बताइन। उनले भनिन, ‘यो केवल मेरो सफलता होइन। सिंगो मन्त्रिपरिषद्को मेहनत, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार र सबै भन्दा महत्वपूर्ण रूपमा निर्वाचनमा सहभागी भएका नेपाली जनताको सहयोगका कारण यो सम्भव भएको हो।’

सुरक्षाको चुनौती सबैभन्दा ठूलो

प्रधानमन्त्री कार्कीले निर्वाचन अघि विभिन्न चुनौती र अवरोधको सामना गर्नुपरेको बताउँदै सुरक्षालाई सबै भन्दा ठूलो चुनौतीको रूपमा उल्लेख गरिन ।

उनका अनुसार त्यसका लागि एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको थियो, जसले प्रभावकारी रूपमा काम गर्‍यो।

‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासन बीच राम्रो समन्वय भयो। सबैले राष्ट्रिय भावनाका साथ काम गर्नुभयो। उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ,’ उनले भनिन ।

निर्वाचन सफल बनाउन सहिद परिवार र घाइते योद्धाहरूको संयम र समझदारी पनि महत्वपूर्ण रहेको उनले बताइन ।

आशंकाका बीच सम्भव भयो निर्वाचन

प्रधानमन्त्री कार्कीले सुरु देखि नै निर्वाचन हुने नहुने विषयमा विभिन्न आशंका व्यक्त गरिएको स्मरण गरिन।

उनका अनुसार सरकार गठनका बेला राजनीतिक अवस्था निकै असहज र अनिश्चित थियो, तर सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने आत्मविश्वास राखेको थियो।

‘लगन र प्रतिबद्धताका साथ काम गरियो भने कठिन परिस्थितिमा पनि सफलता सम्भव हुन्छ। हामीले विभिन्न प्रकारका आक्रमण र अवरोधको सामना गर्‍यौँ, तर लक्ष्यबाट विचलित भएनौँ,’ उनले भनिन।

उनका अनुसार सरकारको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण, अनुशासित र हिंसा रहित रूपमा सम्पन्न गराउनु थियो।

‘पहिलो दिन देखि नै चुनावमा हिंसा हुन नदिनु पर्नेमा हामी स्पष्ट थियौँ। हाम्रो सम्पूर्ण प्रयास त्यसैमा केन्द्रित रह्यो,’ उनले भनिन।

केही सुधारको आवश्यकता पनि महसुस

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा केही सुधार गर्न सकिने अवस्था रहेको पनि स्वीकार गरिन। उनले विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्ला मतदातालाई मतदानको व्यवस्था गर्न सकिएको भए राम्रो हुने बताइन।

निर्वाचन खर्चमा मितव्ययिता अपनाइएको भए पनि भदौ २३ र २४ का घटनाका कारण केही नयाँ उपकरण खरिद गर्नुपरेको उनले जानकारी दिइन।

नयाँ जनप्रतिनिधिबाट सुशासनको अपेक्षा

आगामी सरकार र जनप्रतिनिधिलाई सम्बोधन गर्दै कार्कीले मुलुकका समस्याबारे सबै जानकार भए पनि समाधानका लागि इमानदार प्रयास आवश्यक रहेको बताइन।

उनले युवाहरूले उठाएका मागहरू, सुशासन, स्वदेशमै रोजगारी, भ्रष्टाचारको अन्त्य, विभेद र पक्षपातको अन्त्य तथा देशभित्रै गुणस्तरीय शिक्षाको व्यवस्था, गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गरिन।

‘हामी सरकारबाट बाहिरिनु अघि एउटा श्वेतपत्र सार्वजनिक गर्नेछौँ। त्यसमा हामीले के गर्न खोज्यौँ, के सम्भव भयो र के अधुरो रह्यो भन्ने स्पष्ट हुनेछ। यसले आगामी सरकारलाई मार्गदर्शन दिनेछ,’ उनले भनिन।

जाँच आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री कार्कीले प्रतिवेदन प्राप्त भएलगत्तै कार्यान्वयनमा लैजाने बताइन।

उनले भनिन, ‘मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले स्थान पाउनु हुँदैन। त्यसैले यस्तो प्रतिवेदनहरूलाई हेरेर सार्वजनिक गरिनेछ, ताकि जनताले सत्य थाहा पाउन सकून।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!