१७ वर्षमै मातृत्वको सङ्घर्ष : सीमित साधन बीच जोगियो नवजातको ज्यान

मुस्ताङ- मुस्ताङको ताक्लुङ गाउँकी १७ वर्षीया किशोरीले जोमसोम अस्पतालमा समय भन्दा अगावै (३४ औं हप्तामा) एक नवजात शिशु जन्माइन्। ज्यान जोखिममा पारेर गरिएको यो प्रसव निकै चुनौती पूर्ण थियो। अस्पतालमा नवजात सघन उपचार कक्ष (एनआइसीयु), प्रशिक्षित विशेषज्ञ वा अत्याधुनिक उपकरण नभए पनि डाक्टर र नर्सहरूको सतत प्रयासले शिशुको जीवन बचाउन सफल भएका छन्।
समय अगावै जन्मिएका शिशुमा जटिलता
किशोरी आमाले असार १३ गते जोमसोम अस्पतालमा १.८ किलोग्रामको समय पूर्व शिशु जन्माएकी थिइन्। जन्मिएको एक दिनमै शिशुमा सास फेर्न गाह्रो हुनु, संक्रमण र जन्डिस जस्ता समस्या देखा परेका थिए। अस्पतालसँग एनआइसीयु वा नवजात शिशु विशेषज्ञको सुविधा नहुँदा पनि उपचारमा कुनै कसर बाँकी राखिएन।
जोमसोम अस्पतालका एकमात्र विशेषज्ञ डा. विशाल सापकोटाका भन्छन्, ‘शिशु अत्यन्तै कमजोर अवस्थामा जन्मिएको थियो। हामीसँग स्रोत थिएन, उपकरण थिएन, जनशक्ति पनि पर्याप्त थिएन। तर हाम्रो टीमको मनोबल, निरन्तर निगरानी र समर्पणले शिशुको जीवन बचाउन सकेका छौं।’
गर्भकालदेखि नै जोखिम
किशोरी गर्भकाल भर उच्च रक्तचाप (जेस्टेशनल हाइपरटेन्सन) बाट पीडित थिइन्। न त उनले नियमित जाँच गराएकी थिइन्, न त औषधि सेवन गरेकी थिइन्। चिकित्सकहरूले उनलाई पोखरा रेफर गरेका थिए तर परिवारले मान्न मानेनन्।
असार १२ गते बिहान सुत्केरी व्यथा सुरु भए पनि उनी घरमै थिइन्। स्थानीय स्वास्थ्यकर्मीहरूको पहलमा उनलाई लेते अस्पताल लगियो, जहाँबाट पुनः पोखरा रेफर गरिएको थियो। तर परिवारले गन्तव्य फेरि अस्वीकार गरेपछि उनलाई जोमसोम प्रदेश अस्पताल ल्याइएको थियो।
अस्पतालको अथक प्रयास
अत्यन्तै सीमित सुविधा बीच जोमसोम अस्पतालले विभिन्न उपाय मार्फत नवजात शिशुको उपचार गर्यो । यस अन्तर्गत शिशुलाई एन्टिबायोटिक सुई दिइयो, आमाको दूध निचोरेर वा लैक्टोजन मार्फत हरेक दुई घण्टामा शिशुलाई खुवाइयो, तापक्रम नियन्त्रण गर्न रेडियन्ट वार्मर प्रयोग गरियो ।
यस्तै फोटोथेरापी मार्फत शिशुको जन्डिस उपचार गरियो, नियमित तौल, पेटको मापन तथा शारीरिक अवस्था परीक्षण सँगै शिशुलाई आमाको छातीमा राख्ने ‘कङ्गारु केयर’ समेत गराइयो
यस्ता सेवामा नर्सहरूको निरन्तर हेरचाह निर्णायक बन्यो। ‘हामीसँग दुई जना मात्र नर्स थिए, तर उनीहरूको समर्पणले चमत्कार गर्यो,’ डा. सापकोटाले भने। उपचार प्रक्रियामा बेनी अस्पतालका डा. कुशल बरालबाट पनि फोन मार्फत सल्लाह लिइएको थियो।
सल्लाह विपरीत डिस्चार्ज
अस्पतालले अझै केही दिन शिशुलाई अस्पतालमै राख्न सल्लाह दिएको थियो, तर परिवारले नमानेर सातौं दिनमै शिशुलाई घर लगे। हाल शिशुको अवस्था सामान्य छ । सास फेर्न सहज, तापमान स्थिर, दूध चुस्न सक्ने अवस्था रहेको चिकित्सकहरूले जनाएका छन्।
उदाहरणीय ग्रामीण स्वास्थ्य सेवा
जोमसोम अस्पतालले यो घटना मार्फत सीमित साधन र जनशक्ति मै पनि गम्भीर अवस्था व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको छ। डा. सापकोटा भन्छन्, ‘हामी सँग उपकरण थिएन, तर मन थियो। समर्पित स्वास्थ्यकर्मी र समयमै लिएको निर्णयकै कारण यो सम्भव भयो
प्रतिक्रिया दिनुहोस