अनुसन्धान
खराब मृगौला पनि निको पार्न सकिने सम्भावना, नयाँ अध्ययनले देखायो आशा
मृगौला रोग आजकाल सामान्य बन्दै गएको छ। सुरुमा खासै लक्षण नदेखिने भएकाले यसलाई ‘साइलेंट किलर’ पनि भनिन्छ। एक पटक मृगौला बिग्रन थाले पछि पहिलेको अवस्थामा फर्काउनु लगभग असम्भव मानिँदै आएको छ। तर हालै प्रकाशित एक अध्ययनले मृगौलाको क्षति उल्ट्याउन सकिने सम्भावना तर्फ संकेत गरेको छ।
के भन्छ अनुसन्धान?
वैज्ञानिक जर्नल जेसीआई इनसाइट मा प्रकाशित अध्ययन अनुसार वैज्ञानिकहरूले मृगौलालाई क्षति पुर्याउने मुख्य कारण पहिचान गरेका छन्। समय मै त्यो कारण रोक्न सकिएमा मृगौलामा भएको क्षति सुधार गर्न सकिने देखिएको छ।
अध्ययनमा शरीरमा पाइने सेरामाइड्स (Ceramides) नामका बोसो युक्त अणुहरूले मृगौलाका कोषिकालाई क्षति पुर्याउने तथ्य खुलाइएको छ।अनुसन्धानकर्ताले मुसामा यी अणु बन्न नदिँदा, मृगौला बिग्रने अवस्था भए पनि तिनको मृगौला स्वस्थै रहेको पाइएको छ। मृगौला कोषिका र माइटोकन्ड्रिया सुरक्षित रहे । यसले मृगौलामा पर्ने क्षति रोक्ने मात्र होइन, उल्ट्याउने सम्भावना पनि रहेको संकेत गर्छ।
उपचार पद्धतिमा परिवर्तनको सम्भावना
यो खोजले भविष्यमा मृगौला रोगको उपचार पद्धतिमा ठूलो परिवर्तन ल्याउन सक्ने वैज्ञानिकहरूको भनाइ छ। हाल सम्म मृगौला बिग्रन थालेपछि क्षति रोक्न सकिने तर पूर्ण रूपमा निको पार्न नसकिने मान्यता थियो। तर यो अध्ययनले यदि यही विधि मानिसमा पनि प्रभावकारी भयो भने, भविष्यमा मृगौला फेलियर, डायलाइसिस र प्रत्यारोपणको आवश्यकता घट्न सक्ने देखाउँछ।
यद्यपि अनुसन्धान हालसम्म मुसा मै सीमित भएकाले मानिसमा प्रयोग गर्न थप अध्ययन र समय आवश्यक छ। तर यसलाई मृगौला रोग उपचारको क्षेत्रमा आशाजनक प्रगतिको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस