अनुसन्धान
धूम्रपान, मदिरा र तनाव युवामा अचानक हृदयघातका प्रमुख कारण: आईसीएमआर अध्ययन
नयाँ दिल्ली (ब्युरो) -कोरोना महामारीपछि युवामा अचानक हृदयघातबाट हुने मृत्यु बारे उठेका चिन्ता बीच इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को अध्ययनले मुख्य कारण स्पष्ट पारेको छ। अध्ययन अनुसार धूम्रपान, मदिरा सेवन, अत्यधिक तनाव, मोटोपन र अनियमित जीवनशैली अचानक मृत्युका प्रमुख कारक हुन्। कोरोना खोप र अचानक मृत्युबीच प्रत्यक्ष सम्बन्ध भेटिएको छैन।
नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स), चण्डीगढ पीजीआई र दिल्लीको सफदरजंग अस्पतालमा एक वर्ष भित्र गरिएका पोस्टमार्टमको आधारमा गरिएको यो अध्ययन इन्डियन जर्नल अफ मेडिकल रिसर्च मा प्रकाशित भएको हो जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अनुसन्धानकर्ताले यसलाई युवामा अचानक मृत्युका कारण बुझ्ने सम्म कै सबै भन्दा व्यापक अध्ययन भनेका छन्।
अध्ययन अवधिमा (मे २०२३–अप्रिल २०२४) एम्स दिल्लीमा २,२१४ पोस्टमार्टम गरिएकोमा १८० घटनालाई अचानक मृत्युको श्रेणीमा राखिएको छ। ती मध्ये ५७ प्रतिशत भन्दा बढी मृत्यु १८ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा देखिएको छ। मृतकको औसत उमेर ३३.६ वर्ष रहेको र पुरुषको संख्या महिला भन्दा धेरै रहेको अध्ययनमा उल्लेख छ। विशेषज्ञका अनुसार यसले युवा मै गम्भीर रोग देखिन थालेको संकेत गर्छ।
मुटु रोग प्रमुख कारण
अध्ययनले युवामा अचानक मृत्युको प्रमुख कारण मुटु सम्बन्धी रोग, विशेषतः कोरोनरी आर्टरी डिजिज (सीएडी) रहेको देखाएको छ। करिब ४३ प्रतिशत घटनामा मुटुको धमनीमा गम्भीर अवरोध पाइयो। चिकित्सकका अनुसार धेरैजसो मृतकलाई पहिले कुनै गम्भीर रोग भएको थाहा थिएन। असन्तुलित खानपान, शारीरिक गतिविधिको कमी र दीर्घ तनावले मुटुको स्वास्थ्यलाई क्रमशः कमजोर बनाइरहेको छ।
पाँच मध्ये एक मृत्यु अझै अस्पष्ट
अध्ययनको अर्को चिन्ताजनक पक्ष के छ भने करिब २१ प्रतिशत घटनामा पोस्टमार्टम र अन्य परीक्षण पछि पनि मृत्युको स्पष्ट कारण खुल्न सकेन। यी घटनालाई ‘अचानक र अस्पष्ट मृत्यु’ को श्रेणीमा राखिएको छ। अनुसन्धानकर्ताले यस्तो अवस्थामा आनुवंशिक कारण वा मुटुको विद्युतीय प्रणाली सम्बन्धी गडबडी हुन सक्ने र ती सामान्य पोस्टमार्टमबाट पहिचान नहुने बताएका छन्। यसका लागि मोलिक्युलर अटोप्सी जस्ता उन्नत परीक्षण विधि विस्तार गर्नुपर्ने सुझाव दिइएको छ।
कोरोना खोप सँग सम्बन्ध पुष्टि भएन
एम्स दिल्लीको फरेन्सिक विभागका अध्यक्ष डा. सुधीर गुप्ताका अनुसार सामाजिक सञ्जालमा फैलिएका आशंका बीच यो अध्ययनले स्पष्ट सन्देश दिएको छ। कोरोना खोप र अचानक मृत्यु बीच कुनै प्रत्यक्ष वैज्ञानिक सम्बन्ध भेटिएको छैन। खोप कारण भएको भए पोस्टमार्टममा मुटु वा अन्य अंगमा विशिष्ट परिवर्तन देखिनु पर्ने, तर यस्तो प्रमाण अध्ययनमा नदेखिएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस