शारीरिक संकेत बाटै विद्यार्थीमा तनाव र डिप्रेसन पहिचान सम्भव
नयाँ दिल्ली (ब्युरो) – परीक्षा तनाव र मानसिक स्वास्थ्य समस्याले धेरै विद्यार्थी प्रभावित हुने गरेका छन्। उनीहरूले कहिले काहीँ चिन्ता वा डिप्रेसनको अनुभव गरे पनि खुलाएर भन्न नसक्ने अवस्था हुन्छ। यस्ता विद्यार्थीको मानसिक अवस्था शारीरिक संकेतहरू बाटै पहिचान गर्न सकिने नयाँ अध्ययनले देखाएको छ।
भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासका अनुसन्धानकर्ताले परीक्षा चिन्तामा परेका विद्यार्थीलाई पहिचान गर्न सकिने दुई प्रमुख शारीरिक सूचक पहिचान गरेका छन्। ५७ विद्यार्थी (३६ पुरुष र १६महिला) मा गरिएको यो अनुसन्धान बिहेभिएरल ब्रेन रिसर्च जर्नलमा प्रकाशित भएको हो जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ ।
अध्ययनले ‘फ्रन्टल अल्फा असिमेट्री’ (एफएए) र ‘हार्ट रेट भेरियाबिलिटी’ (एचआरभी) लाई चिन्ता र मानसिक दबाब मापन गर्न महत्त्वपूर्ण जैविक संकेत का रूपमा पहिचान गरेको छ। भावनात्मक नियमन सँग सम्बन्धित एफएए र हृदयको अनुकूलन क्षमता मापन गर्ने एचआरभी सँगै मिलेर परीक्षाको दबाबमा कुन विद्यार्थी बढी जोखिममा छन् भनेर थाहा पाउन सकिन्छ।
आईआईटी मद्रासका इन्जिनियरिङ डिजाइन विभागका प्राध्यापक वेंकटेश बाला सुब्रमण्यमले भने, ‘हामीले विद्यार्थीले आफूले अनुभूति गरेको भावना भन्दा शरीरले देखाएको संकेतलाई प्राथमिकता दिएका छौं। तनावका बेला मस्तिष्क र मुटु बीचको समन्वय कमजोर हुँदा केही विद्यार्थीमा चिन्ता झनै बढ्ने देखिन्छ।’ उनले यस्तो सूचकले तनाव सहने क्षमता भएको र नभएको विद्यार्थी छुट्याउन सजिलो हुने पनि बताए।
अनुसन्धानले भारतमा राष्ट्रिय शैक्षिक अनुसन्धान तथा तालिम परिषद् (एनसिईआरटी) का अनुसार करिब ८१ प्रतिशत विद्यार्थी परीक्षा तनाव बाट प्रभावित हुने तथ्य पनि दोहोर्याएको छ। यसको असर पढाइ सँगै दीर्घकालीन मानसिक स्वास्थ्यमा पनि पर्छ।
अनुसन्धान टोलीकी सदस्य स्वाति परमेश्वरनका अनुसार यी सूचकका आधारमा एआई मार्फत वास्तविक समय मै जोखिममा रहेका विद्यार्थी पत्ता लगाउन सकिने उपकरण विकास गर्न सकिन्छ। ‘यसले व्यक्तिगत स्तरमा तनाव व्यवस्थापन योजना बनाउन सहयोग गर्छ, जसलाई विद्यालय र विश्वविद्यालयका स्वास्थ्य कार्यक्रमसँग जोड्न सकिन्छ,’ उनले भनिन्।
यो अध्ययनले शिक्षा प्रणालीमा मानसिक स्वास्थ्य सम्बन्धी हस्तक्षेप गर्न नयाँ सम्भावना खोलेको छ। विशेषज्ञहरूले यसलाई परीक्षा दबाब र मानसिक स्वास्थ्यको दीर्घकालीन समाधान तर्फको महत्त्वपूर्ण कदम भनेका छन्।

प्रतिक्रिया दिनुहोस