अनुसन्धान
न्यूरोडेभलपमेन्टल विकार भएका व्यक्तिमा समय अगावै मृत्युको जोखिम बढी
ओटागो विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले देखाएको छ कि अटिजम र एडीएचडी (एटेन्सन डिफिसिट हाइपर एक्टिभ डिसअर्डर) जस्ता न्यूरो डेभलपमेन्टल विकार भएका व्यक्तिहरूमा २५ वर्ष पुग्नु अघि मृत्युको सम्भावना सामान्य व्यक्तिको तुलनामा करिब पाँच गुणा बढी हुन्छ।
विश्वविद्यालयको बाल स्वास्थ्य विभागका प्रमुख अनुसन्धानकर्ता निक बोडेनका अनुसार यस्ता विकारका लक्षणहरू प्रायः बाल्यावस्था मै देखिन थाल्छन, जसका कारण भाषा, सञ्चार र व्यवहार सम्बन्धी क्षमताको विकासमा अवरोध आउँछ।
अटिजम भएका बालबालिकामा सामाजिक व्यवहार र सञ्चार क्षमतामा असर पर्छ भने एडीएचडी भएका बालबालिकामा ध्यान केन्द्रित गर्ने, काममा निरन्तरता राख्ने र भावना नियन्त्रण गर्ने क्षमता कमजोर हुने गर्छ।
अनुसन्धानकर्ताहरूले स्टैट्सएनजेड डेटाबेसको आधारमा सन १९९५ देखि सन २००९ बीच जन्मिएका करिब ९ लाख बालबालिकाको अध्ययन गरेका थिए, जसलाई सन् २०१९ सम्म अनुगमन गरिएको थियो। ती मध्ये करिब ४० हजार (४.५ प्रतिशत) बालबालिकामा न्यूरोडेभलपमेन्टल समस्या पहिचान गरिएको थियो।
‘द जर्नल अफ द अमेरिकन मेडिकल एशोसिएसन पेडियाट्रिक्स’ मा प्रकाशित सो अध्ययन लाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ। यो अध्ययनले न्यूरोडेभलपमेन्टल समस्या भएका युवामा मृत्युको जोखिम सामान्य युवाको तुलनामा करिब ४.६७ गुणा बढी रहेको उल्लेख गरेको छ।
अध्ययनले न्यूरोडेभलपमेन्टल समस्या भएका महिलामा पनि मृत्युको सम्भावना ती महिला भन्दा बढी रहेको जनाएको छ, जसमा यस्ता विकारहरू थिएनन्।
यस अघि, जनवरीमा ‘ब्रिटिश जर्नल अफ साइकियाट्री’ मा प्रकाशित अर्को अध्ययनले पनि बाल्यकाल मै एडीएचडी भएको व्यक्तिहरूको आयु सामान्य व्यक्ति भन्दा कम हुने देखाएको थियो। त्यहाँका पुरुषहरू औसतमा ७ वर्ष र महिलाहरू ९ वर्ष कम बाँच्ने निष्कर्ष निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस