अनुसन्धान
एक्लोपन र सामाजिक अलगावले क्यान्सर रोगीमा मृत्युको जोखिम बढाउँछ

क्यान्सर बिरामी माथि गरिएको नयाँ अध्ययनले देखाएको छ कि एक्लोपन र सामाजिक अलगाव क्यान्सर पीडितका लागि अत्यन्त खतरनाक हुन सक्छ। यी अवस्थाहरूले मृत्युको जोखिम उल्लेखनीय रूपमा बढाउने प्रमाण भेटिएको छ।
टोरन्टो विश्वविद्यालयको नेतृत्वमा क्यानडाका अनुसन्धानकर्ताले १५ लाख भन्दा बढी बिरामीलाई समेटेर गरिएका १३ वटा अध्ययनका नतिजाहरू विश्लेषण गरेपछि यो निष्कर्ष निकालेका हुन्। उक्त अध्ययन ओपन एक्सेस जर्नल बीएमजे अन्कोलोजीमा अनलाइन प्रकाशित गरिएको छ, जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
अनुसन्धान टोलीले भनेको छ,’यी नतिजाहरूले देखाउँछ कि एक्लोपन र सामाजिक अलगावले केवल जैविक वा उपचार सम्बन्धी कारणहरू मार्फत मात्र होइन, मनोवैज्ञानिक र व्यवहारगत कारणहरूबाट पनि क्यान्सरको परिणामलाई असर पार्छ।’
टोलीका अनुसार सामाजिक एक्लोपन एक अर्का सँग सम्बन्धित जैविक, मानसिक र व्यवहारिक प्रक्रिया मार्फत मृत्यु दरको जोखिम बढाउँछन । एक्लोपनले उत्पन्न गर्ने तनाव प्रतिक्रियाले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउँछ र शरीरमा सुन्निने बढाउँछ, जसले रोगको प्रगति तीव्र बनाउन सक्छ।
अनुसन्धानकर्ताहरूले थपे, ‘क्यान्सर उपचारका क्रममा हुने शारीरिक परिवर्तनहरूले सामाजिक सहभागिता घटाउँछन्, जसले बिरामीमा अलगावलाई अझ गहिरो बनाउन सक्छ।’
अध्ययनले सुझाव दिएको छ कि क्यान्सरको उपचारमा मनोसामाजिक मूल्यांकन र लक्षित हस्तक्षेपहरूलाई नियमित रूपमा समावेश गर्न आवश्यक छ, ताकि बिरामीको शारीरिक मात्र होइन, मानसिक र सामाजिक पक्षको पनि समुचित हेरचाह हुन सकोस ।
प्रतिक्रिया दिनुहोस