डुबेर हुने मृत्यु रोकथाम दिवस

नेपालमा पानीमा डुबेर वर्षेनी १५ सयको मृत्यु, दुर्घटना रोकथामका लागि समुदायमुखी पहल आवश्यक : डब्लुएचओ


काठमाडौं – नेपालमा बर्सेनि झन्डै १५ सय मानिसको ज्यान पानीमा डुबेर हुने गरेको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, नेपालका नदी, ताल, पोखरी, कुलो, खाल्डो र जलाशयहरू ले विशेष गरी बालबालिका तथा युवाहरूका लागि पानीमा डुब्ने जोखिम निम्त्याइरहेका छन्। यस्तो जोखिम न्यून गर्न समुदाय सँग मिलेर काम गर्नुपर्ने डब्लुएचओले जोड दिएको छ।

‘विश्व डुबेर हुने मृत्यु रोकथाम दिवस’ (वर्ड ड्राउनिङ्ग प्रिभेन्सन डे) शुक्रबार विभिन्न सचेतना मूलक कार्यक्रम सहित मनाइएको छ। सन् २०२१ मा संयुक्त राष्ट्रसंघ महासभाको निर्णय अनुसार यो दिवस प्रत्येक वर्ष २५ जुलाई मा मनाइँदै आएको हो।

विश्व भर हरेक वर्ष ३ लाख भन्दा बढी मानिसको मृत्यु पानीमा डुबेर हुने गरेको छ भने दक्षिण पूर्व एसियामै मात्र ८० हजार बढीको मृत्यु हुने डब्लुएचओ को तथ्याङ्कले देखाउँछ। बालबालिका को सन्दर्भमा त पानीमा डुब्नु मृत्युको मुख्य तीन कारण मध्ये एक मानिन्छ।

नेपालमा जोखिम उच्च, प्रयास सुरु

नेपालमा पानीमा डुब्ने जोखिमलाई मध्य नजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डब्लुएचओको सहयोगमा समुदाय स्तरमा तत्काल मूल्याङ्कन तथा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। यस मार्फत स्थानीय नेताहरू र समुदायसँग सहकार्य गरी दीर्घकालीन समाधान खोजिनेछ।

डब्लुएचओ दक्षिण पूर्व एसियाका कार्यकारी प्रमुख डा. क्याथरिना बोएमेले भनेकी छन्, ‘पानीमा डुब्ने घटना रोकथामका उपायहरू सफल हुन्छन् जब ती स्थानीय सन्दर्भ अनुकूल, समुदाय आधारित र समावेशी हुन्छन्। हामीले बङ्गलादेश, श्रीलंका, थाइल्याण्ड जस्ता देशमा यसको प्रभावकारी उदाहरण देखेका छौं।’

छिमेकी देशहरूका प्रभावकारी अभ्यास

बङ्गलादेशमा खोल्सा र पोखरीले भरिएको गाउँ क्षेत्रमा काम गर्ने आमाहरूले आफ्ना बालबालिका खोल्सामा डुब्ने डरले काम छाड्नुपर्ने अवस्था आउँथ्यो। त्यसको समाधानका रूपमा ल्याइएको ‘अञ्चल’ डे–केयर मोडलले अहिले १–५ वर्षका हजारौं बालबालिकालाई डुबानबाट सुरक्षित राखेको छ।

त्यहाँका ठूला बालबालिकाहरू ‘स्विमसेफ’ कार्यक्रम अन्तर्गत दुई साता मै पौडी सिक्ने अभ्यासमा छन्, जहाँ अहिले सम्म ७ लाख बालबालिकाले तालिम लिइसकेका छन्।

श्रीलङ्कामा, समुद्री माछा मार्ने व्यवसाय गर्ने समुदायका लागि ‘सायुरु’ नामक एसएमएस तथा आवाज मार्फत मौसम पूर्वानुमान दिने सेवा सुरु गरिएको छ। यसले चार वर्षमै आँधीका कारण हुने डुब्दा मृत्यु ७०% ले घटाएको छ।

थाइल्याण्डमा ‘मेरिट मेकर’ नामक सृजनात्मक अभियानले देश व्यापी आन्दोलनकै रूप लिएको छ। विद्यालय प्रतियोगिता, सडक नाटक, सिपीआर  तालिम र मेला प्रदर्शनी मार्फत बालबालिकामा डुबान प्रति चेतना फैलाइएको छ। यसको प्रत्यक्ष परिणाम स्वरूप बालबालिकाको डुबान मृत्यु दर ५७% ले घटेको छ।

‘आफ्नो अनुभव बाँडौँ, जीवन बचाऔँ’

डा. बोएमेले सबै सदस्य राष्ट्रलाई डुबान रोकथामलाई राष्ट्रिय स्वास्थ्य र विकास योजनामै समावेश गर्न आह्वान गरेकी छन्। उनका अनुसार, तथ्यांक मात्रै होइन, समुदायका अनुभव र समाधान साझा गर्नु नै वास्तविक परिवर्तनको जग हो।

‘हामीले तथ्याङ्क मात्र सम्झनु हुँदैन, ती कथाहरू पनि सम्झनुपर्छ। साझा गर्नुपर्छ। सिक्नु पर्छ। अनि ती अनुभवले हामीलाई कारवाही तर्फ डोर्याउनुपर्छ,’ उनले भनिन्, ‘तपाईंको कथा, तपाईंको अनुभव, तपाईंको आवाज, तपाईंको समाधान, कसैको जीवन बचाउन सक्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!