अनुसन्धान
एचपीभी खोपले सर्भाइकल क्यान्सर मात्र होइन, प्रिक्यान्सर घाउबाट पनि जोगाउँछ: अध्ययन
ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) खोप पाठेघर मुख (सर्भाइकल) को क्यान्सरको जोखिम घटाउन मात्र नभई महिलामा हुने वल्भा र भ्याजाइना सम्बन्धी प्रिक्यान्सर घाउबाट पनि सुरक्षा दिन सक्ने देखिएको छ।
जामा अन्कोलोजी जर्नलमा प्रकाशित यो नयाँ अध्ययन 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार एचपीभी खोपले क्यान्सरका प्रमुख कारण मानिने एचपीभी–१६ र एचपीभी–१८ प्रकारका भाइरसबाट हुने संक्रमण रोक्न सहयोग गर्छ।
अनुसन्धानमा कम्तीमा एक मात्रा क्वाड्रिभ्यालेन्ट एचपीभी खोप लगाएका महिलामा खोप नलगाएका महिलाको तुलनामा उच्च ग्रेड वल्भोभ्याजाइनल प्रिक्यान्सर घाउको जोखिम ३७ प्रतिशत कम पाइएको छ।
कम उमेरमा खोप लगाउँदा प्रभाव बढी
विशेष गरी १० देखि १६ वर्षको उमेरमा खोप लगाएका महिलामा यसको प्रभाव अझ स्पष्ट देखिएको अध्ययनले जनाएको छ। यस उमेर समूहमा खोप लगाएकामा भल्भा वा भ्याजाइना सम्बन्धी प्रिक्यान्सरको दर खोप नलगाएकाको तुलनामा ५७ प्रतिशत कम पाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार कम उमेरमै एचपीभी खोप सुरु गर्दा दीर्घकालीन सुरक्षा बढी प्रभावकारी हुन्छ।
यो कोहोर्ट अध्ययन स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिकहरूले गरेका हुन्। अध्ययनमा सन् १९८५ देखि १९९८ बीच जन्मिएका र २००६ देखि २०२२ सम्म स्वीडेनमा बसोबास गरेका ७ लाख ७८ हजार ९ सय ४३ महिलालाई समेटिएको थियो। फलोअप अवधिमा खोप लगाएका महिलामा उच्च ग्रेड वल्भोभ्याजाइनल घाउका ९८ घटना देखिएका थिए भने खोप नलगाएकामा यस्ता ५४७ घटना दर्ता भएका थिए।
घाउका लक्षण र जोखिम
वल्भा र भ्याजाइना वरपर देखिने घाउहरूमा गाँठो, घाउ, सिस्ट वा छालाको रङ परिवर्तन जस्ता लक्षण देखिन सक्छन्। यी समस्या सामान्य संक्रमण देखि प्रिक्यान्सर वा क्यान्सरस अवस्था सम्म हुन सक्ने विशेषज्ञहरूको भनाइ छ। चिलाउने, दुखाइ, जलन वा असामान्य डिस्चार्ज जस्ता लक्षण देखिएमा समय मै परीक्षण र उपचार आवश्यक हुने उनीहरूले बताएका छन्।
एचपीभी विश्वकै सबैभन्दा सामान्य यौन सम्पर्कबाट सर्ने संक्रमण मानिन्छ। यसका कारण विश्व भर हरेक वर्ष करिब ६ लाख ९० हजार नयाँ क्यान्सरका घटना हुने अनुमान छ। एचपीभी सर्भाइकल क्यान्सर सँगै अन्य जननाङ्ग, टाउको र घाँटीका क्यान्सरको पनि प्रमुख कारण हो।
हालका अध्ययनहरूले एचपीभी खोपले ‘हर्ड इम्युनिटी’ प्रदान गर्ने देखाएका छन्, जसका कारण खोप नलगाएका युवतीहरूलाई पनि अप्रत्यक्ष रूपमा केही हदसम्म सुरक्षा मिल्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस