आयातित औषधिको मूल्य वृद्धि भइरहेको छैन : औषधि आयातकर्ता संघ


काठमाडौँ – नेपाल औषधि आयातकर्ता संघ ले पछिल्ला दिनमा आयातित औषधिको अधिकतम खुद्रा मूल्य बढाउने क्रम जारी रहेको भन्ने चर्चा परिचर्चा भ्रमपूर्ण र आधारहीन भएको जनाएको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै औषधि व्यवस्था विभागले ‘जथाभावी’ मूल्य वृद्धि गरिरहेको दाबी सत्य नभएको स्पष्ट पारेको हो। मुलुकमा बाहिरबाट आउने औषधिको झन्डै ९० प्रतिशत जति भारतबाट आयात हुने गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि नेपालमा करिब ३५० विदेशी औषधि उद्योगका उत्पादनहरू करिब १२५ आयातकर्ता मार्फत आयात र वितरण भइरहेको छ। यी औषधिहरू विश्व स्वास्थ्य संगठन का मापदण्डअनुसार स्वीकृत उद्योगबाट मात्र आयात गर्न पाइने व्यवस्था रहेको संघले जनाएको छ।

संघका अनुसार औषधि दर्ता र मूल्य निर्धारण प्रक्रिया निकै व्यवस्थित र नियमनबद्ध छ। औषधि दर्ता कार्यविधि २०७३ र औषधि दर्ता नियमावली २०३८ अनुसार उत्पादक कम्पनीले आफ्नो देशमा स्वीकृत अधिकतम खुद्रा मूल्य भन्दा बढी मूल्यमा नेपालमा औषधि बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ।

संघले औषधि ऐन २०३५ अनुसार सरकारले तोकेका ११७ प्रकारका औषधिहरुको अधिकतम खुद्रा मूल्य दुई दशक देखि अपरिवर्तित रहेको पनि जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘औषधिको कच्चापदार्थ, ढुवानी, प्याकिंग सामग्री, जनशक्ति र मुद्रा स्फीतिका कारण समय सँगै मूल्यमा केही उतार चढाव हुन सक्छ, तर विभागको स्वीकृति बिना मूल्य समायोजन हुन सक्दैन।’

संघले सामाजिक सञ्जाल लगायतकामा औषधि मूल्य सम्बन्धी गलत र अधुरो जानकारी प्रसारण हुँदा जनमानसमा भ्रम फैलिएको समेत जनाएको छ।

संघका अध्यक्ष पवन कुमार आचार्यले विज्ञप्तिमा भनेका छन्, ‘औषधि उद्योग, नियामक निकाय र व्यवसायीहरू प्रति गलत धारणा फैलाउने कुनै पनि गतिविधि रोक्न सबैलाई जिम्मेवार बन्नु आवश्यक छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!