नेपाल फार्मेसी संघले औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई सकारात्मक रूपमा लिँदै सहयोगको प्रतिबद्धता जनायो

काठमाडौं – नेपाल सरकारद्वारा गठित औषधि नीति सुझाव समितिको प्रतिवेदन औषधि तथा स्वास्थ्य क्षेत्रको सुधारको उद्देश्य सहित आएको जनाउँदै नेपाल फार्मेसी सङ्घले प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलको रूपमा लिँदै सकारात्मक स्वागत गरेको छ।
संघले सधैं सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको पहुँचलाई प्राथमिकतामा राख्दै बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित विषयहरूलाई समान महत्व दिँदै आएको उल्लेख गरेको छ।
फार्मेसी संघले जारी गरेको विज्ञप्तिमा औषधिलाई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएको उल्लेख गर्दै यसको गुणस्तर, मूल्य र आपूर्ति प्रणालीमा राज्यको जिम्मेवारी प्रभावकारी र उत्तरदायी हुनु पर्नेमा जोड दिइएको छ।
नेपालमा कुल स्वास्थ्य खर्चको झण्डै ६५ प्रतिशत हिस्सा औषधिमा खर्च हुने उल्लेख गर्दै संघले औषधिको मूल्य निर्धारण सर्वसुलभ र पारदर्शी हुनुपर्ने आवश्यकता माथि जोड दिएको छ। साथै, औषधिको गुणस्तर कायम राख्न नियामक निकाय मात्र होइन, उत्पादक, आयातकर्ता, वितरक, फार्मेसी व्यवसायी, स्वास्थ्यकर्मी र उपभोक्ताको समेत सक्रिय सहभागिता आवश्यक हुने उल्लेख गरिएको छ।
संघले नीति निर्माणमा वैज्ञानिक सोच, तथ्यमा आधारित विश्लेषण र दीर्घकालीन दृष्टिकोण अपनाइनुपर्ने सुझाव दिएको छ। साथै, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उद्योग मैत्री वातावरण बनाउन र निजी क्षेत्रको अनुभव तथा योगदानलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरेको छ।
स्वास्थ्य सेवा प्रवाहमा निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको भन्दै कानुनी तथा नीतिगत संरचनाहरू सन्तुलित, प्रभावकारी र कार्यान्वयन योग्य हुनुपर्ने संघको माग छ।
संघले कुनै पक्ष वा स्वार्थ प्रेरित धारणा नभई वैज्ञानिक आधारमा जनस्वास्थ्यको केन्द्रमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, जनमुखी नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्न सधैं तयार रहेको स्पष्ट पारेको छ।
नेपाल फार्मेसी सङ्घले दीर्घकालीन सुधार र स्थायित्वका लागि राज्य, निजी क्षेत्र, व्यवसायी, स्वास्थ्यकर्मी र नागरिक समाजबीच आपसी विश्वास, संवाद र सहकार्य आवश्यक रहेको भन्दै नेपाल फार्मेसी संघले राज्यको यस पहलमा दृढ साथ दिने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया दिनुहोस