ठगीको चङ्गुलबाट बिरामीलाई जोगाउँदै: प्रत्यारोपण र सल्यक्रियामा प्रयोग हुने सामग्री अब सरकारी फार्मेसीमै


काठमाडौं – बिरामीसँग हुने आर्थिक ठगी रोक्नका लागि स्वास्थ्य मन्त्रालयले प्रत्यारोपण र शल्यक्रिया मा प्रयोग हुने सामग्री अनिवार्य रूपमा अस्पतालकै फार्मेसीमार्फत उपलब्ध गराउने निर्णय गरेको छ।

मुटु, हड्डी लगायतका विभिन्न अंगको प्रत्यारोपण तथा उपचारमा प्रयोग हुने सामग्री अहिले निजी व्यवसायीबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्थालाई सम्बोधन गर्दै मन्त्रालयले यस्तो परिपत्र जारी गरेको हो।

हालसम्म यस्ता सामग्री अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा र मूल्य सार्वजनिक नहुँदा बिरामीहरू ठगिँदै आएको गुनासो थियो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशनअनुसार अब नयाँ आर्थिक वर्षदेखि यस्ता सामग्री अस्पताल फार्मेसीमै उपलब्ध हुनेछन्। स्वास्थ्य मन्त्रालयको अनुसार सचिव स्तरीय निर्णय मार्फत अस्पतालका फार्मेसीमा यी सामग्री अनिवार्य रूपमा राखिनेछ र मूल्य समेत सबै बिरामीले देख्ने स्थानमा प्रस्ट रूपमा सार्वजनिक गरिनेछ।

यस्तै, कुनै नयाँ उपकरण वा सामग्री आवश्यक परेमा अस्पतालहरूले कम्पनी र आधिकारिक विक्रेता तथा मूल्य विवरणसमेत सार्वजनिक गरेर मात्र खरिद गर्न सकिने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।

बिरामीमाथि अनावश्यक आर्थिक भार नपरोस् र ठगीजन्य गतिविधि नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले सबै अस्पतालहरूलाई समयमै सचेत गराउँदै आवश्यक तयारी गर्न परिपत्रमार्फत आग्रह गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!