अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस
नर्सिङ्ग जनशक्तिको वृद्धि सँगै विश्व भर स्वास्थ्य सेवा उपलब्धतामा अझै गहिरो असमानता : डब्लुएचओ को नयाँ प्रतिवेदन

जिनेभा – विश्व भर नर्सहरूको संख्या सन् २०१८ मा ७९ लाख बाट २०२३ मा बढेर २ करोड ९८ लाख पुगेको छ। तर, यो वृद्धिले सबै देश र क्षेत्रहरूमा समान स्वास्थ्य सेवा सुनिश्चित गर्न सकेको छैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), अन्तर्राष्ट्रिय नर्स परिषद् (आईसीएन) तथा अन्य साझेदार संस्थाहरूले संयुक्त रूपमा प्रकाशित ‘स्टेट अफ द वर्ल्ड्स नर्सिङ्ग २०२५’ प्रतिवेदन अनुसार, स्वास्थ्य जनशक्तिमा भएका गहिरा असमानताले विश्वव्यापी रूपमा सार्वभौमिक स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ केयर), स्वास्थ्य सुरक्षा र दिगो विकास लक्ष्यहरू प्राप्तिमा चुनौती उत्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले पहिलो पटक १९४ देशहरूको विस्तृत नर्सिङ्ग तथ्यांक समेट्दै नर्सिङ्ग जनशक्तिमा भइ रहेका प्रगति, चुनौती र आगामी नीति प्राथमिकता विश्लेषण गरेको छ।
वृद्धि भएको नर्स संख्याले समस्या पूरै समाधान गर्न सकेन
सन् २०२० मा विश्वमा ६२ लाख नर्स अभाव थियो, जुन सन् २०२३ मा घटेर ५८ लाख पुगेको प्रतिवेदनले देखाएको छ। हालको प्रवृत्तिमा अघि बढे सन् २०३० सम्ममा यो अभाव ४१ लाखमा झर्ने अपेक्षा गरिएको छ।
तर, यो समग्र प्रगति क्षेत्रमा देखिएका गहिरा भिन्नताले ढाकेको छ। करिब ७८% नर्सहरू केवल ४९% जनसंख्या भएका देशहरूमा सीमित छन्, जसको अर्थ बाँकी विश्वका अर्बौं मानिसहरूले अझै पर्याप्त स्वास्थ्य सेवा पाउन सकेका छैनन्।
निम्न र मध्यम आय भएका देशमा थप चुनौती
कम तथा मध्यम आय भएका देशहरूमा नर्स उत्पादन, नियुक्ति तथा दीर्घकालीन सेवा सुनिश्चित गर्न कठिनाइ छ। त्यस्ता देशहरूले स्वदेशी लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने प्रतिवेदनले उल्लेख गरेको छ।
अर्को तर्फ, धनी मुलुकहरूमा वृद्ध नर्सहरूको सेवा निवृत्तिको दर उच्च भएको र तिनले विदेशी प्रशिक्षित नर्सहरूमा अत्यधिक निर्भरता बढाएको पाइएको छ। यस्तो निर्भरता दीर्घकालीन रूपमा सन्तुलित विकासका लागि चुनौतीपूर्ण हुने जनाइएको छ।
लैङ्गिक असमानता र आप्रवासनमा निर्भरता
प्रतिवेदन अनुसार नर्सिङ्ग पेशामा महिलाहरूको व्यापक उपस्थिती रहेको छ । कुल नर्सको ८५% महिला छन्। यस्तै, विश्व भर ७ मध्ये १ जना नर्स विदेशमा जन्मिएका छन्, जुन उच्च आय भएका देशहरूमा २३% पुग्छ। निम्न आय भएका देशहरूमा यो दर मात्र ३% छ।
नेतृत्व, तालिम र मानसिक स्वास्थ्यमा असमानता
विश्वका ८२% देशहरूमा वरिष्ठ सरकारी नर्सिङ्ग अधिकारी छन्। तर, नेतृत्व विकास कार्यक्रम सबै देशमा समान छैन। केवल २५% मात्र निम्न आय भएका देशहरूले संरचित नेतृत्व विकास कार्यक्रम सञ्चालन गरेका छन्।
कोभिड-१९ महामारी पछिको मानसिक तनाव र कामको चापको बाबजुद पनि केवल ४२% देशहरूले मात्र नर्सहरूको मानसिक स्वास्थ्यका लागि नीति बनाएका छन्।
यो दीर्घकालीन रूपमा दक्ष जनशक्ति कायम राख्न चुनौती बन्न सक्ने विश्लेषकहरू को भनाइ छ।
डब्लुएचओ महानिर्देशक डा. टेड्रोसको अपिल
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहनम गेब्रेयससले भने, – ‘यो रिपोर्ट उत्साहजनक प्रगतिको संकेत हो। तर, अझै हामीले गहिरा असमानता हटाउन प्रयास गर्नु पर्नेछ। अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा म सबै देश र साझेदारहरूलाई यो रिपोर्टलाई संकेतको रूपमा लिन अपिल गर्दछु । हामी कहाँबाट आएका हौं, अहिले कहाँ छौं र कहाँ पुग्नु पर्छ भन्ने स्पष्ट मार्गचित्र यो हो।’
अन्तमा, रिपोर्टले डब्लुएचओको ‘ग्लोबल स्ट्राटेजिक डाइरेक्शन फर नर्सिङ्ग एन्ड मिडवाइफरी २०२१–२०२५’ सँग नीतिगत समन्वय गरी ७८औं विश्व स्वास्थ्य सभामा प्रस्तुत ‘स्वास्थ्य जनशक्तिमा २०३० भित्र तीव्र प्रगति’ प्रस्तावलाई मूर्तरूप दिन महत्वपूर्ण प्रमाण आधार प्रस्तुत गरेको छ।
भविष्यका नीति प्राथमिकताहरू के हुन?
सन २०२६–२०३० अवधिका लागि प्रतिवेदनले निम्न नीति प्राथमिकताहरूमा जोड दिएको छ:
- दुर्गम र सेवा विहीन क्षेत्रहरूमा नर्सिङ्ग रोजगारी विस्तार
- शिक्षा तन्त्र बलियो बनाउँदै भूमिका अनुसारको तालिम सुनिश्चित गर्ने
- कार्य परिस्थिति, तलब र मानसिक स्वास्थ्य सेवामा सुधार
- उन्नत नर्सिङ्ग अभ्यासलाई संस्थागत गर्दै नियमन प्रणाली सुदृढ गर्ने
- नर्सहरूको सुरक्षालाई प्राथमिकता दिँदै लैङ्गिक समानता प्रवर्द्धन गर्ने
- डिजिटल प्रविधि प्रयोग र जलवायु-उत्तरदायी सेवाका लागि नर्स तयारी
- नेतृत्व विकासमा समान अवसर सुनिश्चित गर्ने।
प्रतिक्रिया दिनुहोस