आवासीय चिकित्सकको सेवा सुविधाबारे सुझाव दिन कार्यदल गठन

काठमाडौं – आवासीय चिकित्सकका ड्युटी, बिदा र अतिरिक्त सेवा सुविधाका विषयमा सुझाव दिन स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गरेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोजकत्वमा गठन भएको कार्यदलले हालको अवस्था मूल्यांकन गरी सुधारका लागि सुझाव तयार पार्नेछ।
गत वैशाख २० गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आवासीय चिकित्सकसँग भएका समझदारीहरू कार्यान्वयन गर्न सहमति भएको थियो। त्यसैका आधारमा मन्त्रालयले कार्यदल गठन गरेको हो।
कार्यदलमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा.डा. सुजनबाबु मरहट्टा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, प्रतिष्ठानका रेक्टर प्रा.डा. लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनोज हुमागाईं, निजी मेडिकल कलेज प्रतिनिधिका रूपमा डा. सुमेश मिश्र सदस्य छन्। साथै, मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल कार्यदलको सदस्य–सचिव रहने छिन्।
कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्न र यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरू सँग तुलना गर्न एवं सुधारका लागि कार्यान्वयन योग्य सिफारिसहरू तयार पार्न कार्यादेश दिइएको छ ।
कार्यदललाई दुई साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। सो प्रतिवेदनले आवासीय चिकित्सकहरूको सेवा सुविधा सुधारका लागि कार्यान्वयन गर्न सकिने सिफारिसहरू समेट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस