सरकारले स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा ९८५ अस्थायी जनशक्ति थप्ने


काठमाडौं – सरकारले स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा गरी ९८५ जना अस्थायी जनशक्ति थप्ने भएको छ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी मूल्यांकनको काममा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डका लागि ४०२ जना अस्थायी जन शक्ति स्वीकृत गरेको छ। तीमध्ये ५६ जना अधिकृत स्तरका तथा ३४६ जना सहायक स्तर तथा श्रेणीविहीन जनशक्ति छन्।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएको जनशक्तिले चालु आर्थिक वर्षमै बाँकी दाबीहरूको मूल्यांकन सक्ने विश्वास व्यक्त गरे। हाल बोर्डले साउन महिना सम्मका मात्र दाबी मूल्यांकन सकिएको जानकारी दिएका छन्।

त्यसै गरी, मन्त्रिपरिषद्को निर्णय अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका लागि १२९, गेटा अस्पताल, धनगढीका लागि १४१ र डडेलधुरा अस्पतालका लागि ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, यो निर्णयले अस्पतालहरूमा सेवा सञ्चालनमा देखिएको जनशक्ति अभावको समस्या हल गर्न मद्दत गर्नेछ। संगठन तथा व्यवस्थापन संरचना टुंगिन नसकेका अवस्थामा पनि अस्थायी दरबन्दीले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!