अझै रोकिएन, निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन


काठमाडौं – निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले पारिश्रमिक तथा पेशागत अधिकार सुनिश्चितता को माग गर्दै २९ दिन देखि आन्दोलनरत छन ।

आन्दोलनकारी चिकित्सकहरू बिहीबार समेत काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएर र्‍याली गरेका छन्।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ को अनुसार, २०८० असोज १३ गते सरकार सँग भएको सात बुँदे सहमतिको कार्यान्वयनमा भएको ढिलाइका कारण आन्दोलन मा जारी रहेको छ ।

समितिका संयोजक डा. शेषराज घिमिरे ले नेपाल हेल्थ प्रेससँग भने -‘हाम्रो आन्दोलनलाई सम्बोधन गर्ने विषयमा अहिले सम्म सरकार र निजी मेडिकल कलेजबाट गरिने क्रियाकलापहरूमा खासै प्रगति भएको छैन, स्टाईपेन्ड आएको छैन’ ड्युटी आवर, बिदा, लगायतका स्नातकोत्तर कार्यक्रम सुधार बारे कुनै सहमति भएको छैन ।’

सरकारसँग भएको सात बुँदे सहमतिको चौथो बुँदा अनुसार आवासीय चिकित्सकलाई सरकारी आठौं तह (मेडिकल अधिकृत) सरह पारिश्रमिक दिन कार्यदल मार्फत सिफारिस भइसकेको छ। सो सिफारिस चिकित्सा शिक्षा आयोगको १६औं पूर्ण बैठकले समेत अनुमोदन गरिसकेको भए तापनि कार्यान्वयनमा ढिलाइ भइरहेको समितिको भनाइ छ।

समितिले श्रम शोषण विरुद्धको यो आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, मेडिकल समाज र आम नागरिकसँग ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । उनीहरूले शान्तिपूर्ण, कानुन सम्मत विरोध कार्यक्रमहरूमा देशभरका चिकित्सकहरूलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

संघर्ष समितिका प्रवक्ता डा. संजय बरालका अनुसार, ‘हामी हाम्रो हकहितका लागि निरन्तर लागिरहेका छौं। सहमतिको कार्यान्वयन नभएसम्म आन्दोलन झन सशक्त बनाइनेछ।’

चिकित्सकहरूको मुख्य माग

  • न्याय संगत पारिश्रमिक: सम्पूर्ण निजी मेडिकल कलेजमा कार्यरत एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह पारिश्रमिक उपलब्ध गराइनु।
  • नमान्ने संस्था माथि कारबाही: पारिश्रमिक व्यवस्था नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज, बीमा तथा सरकारी अनुदानसम्बन्धी सुविधा रद्द गरिनु।
  • स्नातकोत्तर कार्यक्रम सुधार: कार्य समय, बिदा, पारिश्रमिक, परीक्षा प्रणाली लगायत विषय समेटिने गरी स्पष्ट कार्यविधि तयार गर्न ‘स्नातकोत्तर कार्यक्रम सञ्चालन प्रक्रिया’, (पिजी प्रोग्राम अपरेशन प्रोसेंड्युर)  ड्राफ्टिङ कमिटी गठन गरिनु।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!