मरे पछि खरानी हुने अंगहरू दान गर्न प्रधानमन्त्री प्रचण्ड को आह्वान


काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मरेपछि खरानी भएर जाने अंगहरू दान गर्न आह्वान गरेका छन् । शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपाल द्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा शनिवार बोल्दै प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन ।

‘मरे पछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो ।तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछु’, प्रधानमन्त्री ले भने ।

उनले आफ्नो दोस्रो प्रधानमन्त्रीत्व कालमा नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई बिस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको जनाउँदै गत वर्ष समेत यसबारे प्रतिबद्धता व्यक्त गरिसकेको ले यसै कार्यकालमा यस सम्बन्धी बाँकी काम टुङ्गोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको समेत बताए ।

प्रधानमन्त्री ले ख्याति प्राप्त चिकित्सक र स्वास्थ्य कर्मीहरू सम्मिलित महत्वपूर्ण कार्यक्रमको आयोजनाका निम्ति आयोजक संस्थाहरू र डा. पुकार चन्द्र श्रेष्ठको टिमलाई धन्यवाद समेत व्यक्त गरे ।

मृगौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र वाट सञ्चालित मृगौला प्रत्यारोपण कार्यक्रम वाट संस्था स्थापनाको ११ वर्षमा झन्डै १२०० जनाको मृगौला प्रत्यारोपण गर्न सक्नु त्यसमा पनि ९९ प्रतिशत सफलता हासिल गर्नु देशकै गौरवको कुरा ठानेको निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ ले बताए । उनले स्वास्थ्य सेवाको कुनै पनि विधामा सबैभन्दा जटिल, गहन, महँगो तथा चुनौती पूर्ण कार्य प्रत्यारोपण रहेको जनाए ।

‘यति छोटो अवधिमा देशमा सबै भन्दा बढी मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण, निःशुल्क डाइलाइसिस तथा मृगौला प्रत्यारोपण को सुरुवात गर्नु र यी कार्यहरूको निम्ति नियम, कानुन, नीति योजना बनाउन नेपाल सरकारलाई घचघच्याइ इतिहास रच्न सफल यस केन्द्रको प्रयास र उपलब्धिहरू दीर्घकालीन फल प्राप्त गर्न महत्वपूर्ण साबित हुँदै जाने कुरामा दुई मत हुने छैन । यो स्तरको सेवामा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि कैयौँ वर्ष लाग्ने गर्दछ‘, डा. श्रेष्ठ ले भने । प्रत्यारोपण सम्मेलन मा करिब २५० विशेषज्ञ हरूको सहभागिता छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!