नेपालमा ट्रान्स फ्याट नियन्त्रण वारे कानुनी व्यवस्था छैन


काठमाडौं– विश्वको दश वटा ट्रान्सफ्याट अर्थात् अति खराब चिल्लोको सबै भन्दा बढी प्रयोग हुने देश मध्ये नेपाल एक भए पनि यहाँ अझ सम्म यसको नियन्त्रण बारे कानुनी व्यवस्था हुन सकेको छैन । ट्रान्सफ्याट धेरै भएको खाना वाट युवावस्थामा नै खराब कोलेस्ट्रोल बढ्ने , उच्च रक्तचाप, मोटो पना, मधुमेह, लगायतका समस्या भएर हर्ट एटैक, मस्तिष्क घात, केही क्यान्सर जस्ता रोगहरू हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन ( डव्लुएचओ ) ले सन २०२३ सम्म विश्व बजारमा उपलब्ध गराइने खाद्य पदार्थहरूमा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशत वा सो भन्दा कम गराउने लक्ष्य तय गरेको छ । छिमेकी मुलक भारत र बंगलादेश समेत ट्रान्स फ्याट लाई २ प्रतिशतमा सीमित गर्ने निती लाइ पारित गरी सकेका छन् ।

नेपालमा समेत खानामा ट्रान्स फ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम र कानुन बनाउन अझै समय लाग्ने दुखेसो शुक्रवार आयोजित ट्रान्स फ्याट सम्बन्धी कानुनी मुद्दाहरू बारे पत्रकार सम्मेलनमा नेपाल हर्ट फाउण्डेसनका पदाधिकारिहरूले पोखेका हुन । विज्ञहरूको अनुसार कानुन र दण्ड सजायको अभावमा ट्रान्स फ्याट नियन्त्रणको प्रयासले आकार लिन सकी रहेको छैन ।

गत वर्ष सरकार द्वारा जारी भएको नसर्ने रोगहरू नियन्त्रणको बहु पक्षीय कार्य योजनामा २०२१-२०२५ मा मुलुकमा खाद्यपदार्थमा २ प्रतिशत वा सो भन्दा कम मात्र औद्योगिक ट्रान्स फ्याटको मात्रा कायम गर्नु पर्ने उल्लेख गरिएको छ ।

हाल लाई खाद्य ऐन २०२३ को दफा ७ को आधारमा सरकारले राजपत्रमा सूचना जारी गरेर नेपालमा तयार गरिने वा आयात गरिने खाद्य वस्तुमा ट्रान्स फ्याटको मात्रा बढी मा २ प्रतिशतमा सीमित हुनु पर्ने भनी गुणस्तर तोक्न सक्ने हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने बताउँछन् ।

आम व्यक्तिमा ट्रान्स फ्याट को नकारात्मक असर बारे जन चेतना अभिवृद्धि गर्नु ले नै यसको नियन्त्रण सँग उपयोगमा कमी आउन सकिने हृदय रोग निवारण प्रतिष्ठानका दीपेन्द्र पुरुष ढकालले बताए ।

मन्द विष मानिएको ट्रान्स फ्याटको अत्यधिक उपयोगले पछिल्लो समय नसर्ने रोगमा अत्यधिक बृद्घि भएको र यसले युवाहरू समेत हर्ट एटैक , स्ट्रोक लगायतका कारणले ज्यान गुमाउन थालेको डा. प्रकाशराज रेग्मी बताउँछन् । अत्यन्त नै खराब चिल्लो पदार्थ मानिएको ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोल को मात्रा बढाउँछ र राम्रो कोलस्ट्रोलको मात्रा घटाउँछ ।

‘ट्रान्स फ्याट धमनी हरुको लागि अत्यन्त हानिकारक छ । यसले धमनीको भित्री भागमा नकारात्मक असर गरेर साँघुरिने क्रमलाई बढाउँछ ’, डा. प्रेम राज वैद्य भन्छन् –‘यति मात्र नभइ ट्रान्स फ्याटले रगतको थेग्रा जम्ने सम्भावना बढाउने भएकोले यसले हर्ट एटैक, स्ट्रोक ( मस्तिकाघात )हुने सम्भावनालाइ धेरै बढाउँछ।’

विज्ञहरूको अनुसार ट्रान्स फ्याटले यसले मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरूमा स्तन क्यान्सर को जोखिम समेत बढाउँछ ।डब्लूएचओका अनुसार वर्षेनी करिब ५ लाख ४० हजार व्यक्तिको मृत्यु ट्रान्स फ्याट कै कारणले हुन्छ ।

कस्तो खाद्य पदार्थमा ट्रान्सफ्याट बढी हुन्छ ?
वनस्पति तेल लाई जति धेरै पटक ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । यस्तो तेलमा पकाएको खाद्य पदार्थ स्वादिलो भए पनि स्वास्थ्य को लागि अत्यन्त हानिकारक हुन्छ ।

उद्योगमा तयार गरेर प्याकेटमा बन्द गरेर विक्री वितरण गरिएको खाद्य पदार्थ जस्तै तयारी चाउचाउ, कुकिज, दालमोट, भुजिया, चिज वल्स, कुरकुरे, आलु चिप्स, लगायतका खाद्य पदार्थमा समेत ट्रान्स फ्याट उच्च मात्रामा हुन्छ ।

वनस्पति घिउमा बनाइएका बेकरीको सामाग्री जस्तै गोनट, केक, आइसक्रिम, पिज्जा, तेलमा डिप फ्राइ गरेर तयार पारिने फास्ट फुड जस्तै समोसा, पुरी, पकौडा, चिकेन फ्राइ, आलु फ्राइ, वर्गर, ससेज, आदिमा धेरै मात्रामा ट्रान्स फ्याट हुन सक्छ ।

वनस्पति घिउमा तारेर बनाइने मिठाई जेरी, लालमोहन, गुँदपाक, पुष्टकारी, लाखा मरी, आदिमा समेत अत्यधिक ट्रान्स फ्याट हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!