कान्ति बाल अस्पताललाई ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ का रूपमा विकास गर्ने तयारी


काठमाडौं- मुलुकको को एकमात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पताललाई १ हजार शैयाको अत्याधुनिक ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’का रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालका निर्देशक डा. पंकज रायले अस्पताल स्थापनाको ६४औँ वार्षिकोत्सवमा प्रस्तुत गरेको वार्षिक समीक्षा प्रतिवेदनमा यो जानकारी दिइएको हो।

डा. रायका अनुसार शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा बाल स्वास्थ्य अध्ययन संस्थान सहितको कान्ति बाल अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। सोही डीपीआरअनुसार निर्माण कार्य सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष आग्रह गरिएको उनले बताए।

स्वास्थ्य मन्त्री डा. सुधा शर्माले कान्ति बाल अस्पताललाई ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’का रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैं सकारात्मक रहेको उल्लेख गर्दै १ हजार शैयाको अत्याधुनिक स्वास्थ्य संस्थाका रूपमा विस्तार गर्न आवश्यक नीतिगत निर्णयहरूमा मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताइन्।

स्वास्थ्य मन्त्री डा. शर्माले  हालको अवस्थामा नयाँ ठूला आयोजनाहरू तत्काल अगाडि बढाउन कठिनाइ रहेको उल्लेख गर्दै उनले अस्पताल सञ्चालनमा समस्या आए जुनसुकै बेला मन्त्रालयमा आएर छलफल गर्न सकिने बताइन्। थोरै बजेटबाट समाधान गर्न सकिने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।

हाल अस्पतालले नेपाल सरकार र अस्पताल विकास समितिको संयुक्त प्रयासमा ३७२ शैयाबाट सेवा दिइरहेको छ। जनशक्ति तर्फ सरकारबाट स्वीकृत २६४ र विकास समिति तर्फ २७५ दरबन्दी मध्ये हाल ३२५ स्थायी कर्मचारी कार्यरत छन्।

पछिल्ला दुई वर्षमा सेवा सुधारका लागि महत्वपूर्ण कामहरू भएको निर्देशक डा. रायले जानकारी दिए। सबै युनिटबाट नयाँ र पुराना बिरामी हेर्ने व्यवस्था लागू गरिएको, फार्मेसी सेवा विस्तार गरिएको र औषधि उपलब्धता सहज बनाइएको उनले बताए। लामो समयदेखि रोकिएको पुरानो जिन्सी लिलामी गर्दा ५४ लाख रुपैयाँ आम्दानी भएको र अस्पताल परिसरको व्यवस्थापनमा सुधार आएको पनि प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, रेडियोलोजी विभागमा फिल्मलेस रिपोर्टिङका लागि पीएसीएस प्रणाली जडान, थप माइनर ओटी स्थापना, डेण्टल सेवामा नयाँ चेयर थप, सर्जिकल विभागमा डाक्टर लाउन्ज स्थापना, खानेपानी समस्याका लागि केयूकेएल मार्फत पानी जडान, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने लगायतका काम सम्पन्न भएका छन्।

भावी योजनाअन्तर्गत अस्पताललाई १ हजार शैयाको आधुनिक संरचनामा रूपान्तरण गर्दै बाल स्वास्थ्य अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। साथै कान्ति बाल अस्पताल नियमावली, २०६३ संशोधन गरी कर्मचारीको बढुवा र स्तरवृद्धि प्रक्रिया अघि बढाउने तयारी पनि भइरहेको डा. रायले बताए।

सीमित स्रोत साधनका बाबजुद पनि विगत ६३ वर्षदेखि मुलुकका करिब एक तिहाइ जनसंख्या ओगट्ने बालबालिकाको उपचारमा समर्पित रहँदै आएको कान्ति बाल अस्पतालले बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएकोछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!