मेडिकल काउन्सिलले हटाउँदैछ चिकित्सकहरूको अस्थायी दर्ता प्रणाली
काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि लागू हुँदै आएको ‘अस्थायी दर्ता’ प्रणाली हटाउने प्रक्रिया अघि बढाएको छ।
काउन्सिलको हालै सम्पन्न पूर्ण बैठकले नियमावली संशोधन गरी अस्थायी दर्ताको प्रावधान खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक पत्र पठाइएको काउन्सिलका रजिस्टार डा. सतिश देवले जानकारी दिए।
डा. देवका अनुसार अस्थायी र स्थायी दर्ता प्रणालीका कारण अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रमा नेपाली चिकित्सकका मेडिकल काउन्सिल दर्ता प्रमाणपत्रमा अन्योल देखिने गरेको छ।
‘विदेशी काउन्सिलहरूले पुनः भेरिफिकेसनका लागि नेपाल मेडिकल काउन्सिलमा प्रमाणपत्र पठाउने अवस्था आउने गरेको छ। यही अन्योल हटाई दर्ता प्रक्रियामा एकरूपता ल्याउन अस्थायी दर्ता हटाउने निर्णय गरिएको हो,’ उनले भने।
काउन्सिलका अनुसार गत मंसिर ३ गते बसेको पूर्ण बैठकले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को परिच्छेद २ अन्तर्गत नियम ५ मा रहेको अस्थायी दर्ताको व्यवस्था हटाउन स्वास्थ्य मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको थियो।
स्वास्थ्य मन्त्रालयमा मङ्गलबार पठाइएको पत्र काउन्सिलका रजिस्टार डा. सतिस कुमार देवको हस्ताक्षरमा रहेको छ, जसमा नियमावली संशोधन आवश्यक रहेको उल्लेख छ।
यस अघि चिकित्सा शिक्षा पूरा गरेका चिकित्सकहरूले स्थायी लाइसेन्स लिनु अघि वा निश्चित प्रयोजनका लागि अस्थायी दर्ता गराउनुपर्ने प्रावधान थियो। उक्त व्यवस्था हटे पछि चिकित्सक दर्ता प्रक्रियामा नीतिगत परिवर्तन आउने काउन्सिलले जनाएको छ।
मेडिकल काउन्सिलको निर्णय स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित भए पछि मात्र औपचारिक रूपमा लागू हुनेछ।


प्रतिक्रिया दिनुहोस