डब्ल्यूएचओ दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयको नयाँ भवन उद्घाटन
नयाँ दिल्ली (ब्युरो)- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयको नव निर्मित भवन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
नयाँ दिल्लीमा आयोजित दोस्रो डब्ल्यूएचओ ग्लोबल समिट अन ट्रेडिसनल मेडिसिनको समापन सत्रका क्रममा शुक्रबार भवनको भर्चुअल उद्घाटन गरिएको हो। भारत सरकारले आर्थिक सहयोग र व्यवस्थापनमा निर्माण गरेको उक्त भवन इन्द्रप्रस्थ एस्टेट स्थित डब्ल्यूएचओको पुरानो परिसर मै निर्माण गरिएको छ।
उद्घाटन पछि साँझ भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाको नेतृत्वमा दक्षिण पूर्व एशियाका सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा प्रतिनिधि, डा. टेड्रोस र डब्ल्यूएचओ दक्षिण पूर्व एशियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले नयाँ भवनको अवलोकन गरेका थिए।
भारत सरकारलाई धन्यवाद दिँदै डा. टेड्रोसले भने, ‘यो भवन केवल कार्यस्थल मात्र होइन। यो साझा उद्देश्य र सहकार्यको प्रतीक हो, जसबाट हामी सबैका लागि उच्चतम सम्भव स्वास्थ्य स्तर हासिल गर्ने डब्ल्यूएचओको मूल लक्ष्य तर्फ अघि बढि रहने छौँ।’
तीन आपसमा जोडिएका टावर सहितको आधुनिक संरचनायुक्त यो भवन सन् १९६० को दशकमा भारत सरकारले निर्माण गरेको ‘डब्ल्यूएचओ हाउस’ रहेको स्थानमै बनेको हो। पाँच दशक भन्दा बढी समय सेवा दिएको पुरानो भवनको स्थानमा नयाँ, दिगो र भविष्य उन्मुख संरचना निर्माण गरिएको डब्ल्यूएचओले जनाएको छ।
डा. बोएमेले भनिन्, ‘यो केवल भवन होइन। यो क्षेत्र र बाहिर सम्म स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्ने हाम्रो साझा दृष्टि र प्रतिबद्धताको प्रतीक हो।’
नयाँ भवनले हरित भवन मापदण्ड पूरा गर्ने, सौर्य ऊर्जा प्रयोग गर्ने, वर्षा पानी संकलन तथा पुनःप्रयोग गर्ने, ताप नियन्त्रण गर्ने संरचना र भित्री बाहिरी बगैँचा समेटेको छ। यसले वातावरणीय प्रभाव घटाउँदै जलवायु अनुकूल स्वास्थ्य पूर्वाधार निर्माण गर्ने डब्ल्यूएचओको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने संगठनले जनाएको छ। भवनमा ठूला सम्मेलन हल र सभागृह सहित बैठक तथा कार्यक्रमका लागि आवश्यक संरचना पनि समावेश छन्।
पुरानो भवनमा सदस्य राष्ट्रहरूले उपहार स्वरूप दिएका कला सामग्री नयाँ भवनमा सजाइएका छन्। प्रसिद्ध कलाकार एमएफ हुसेनद्वारा निर्मित ‘द हिस्ट्री अफ मेडिसिन’ शीर्षकको भित्ते चित्र भारतीय राष्ट्रिय कला तथा सांस्कृतिक सम्पदा ट्रस्ट (इन्ट्याक) ले संरक्षण गरी नयाँ भवनको स्वागत कक्षमा पुनःस्थापना गरिएको छ।
करिब ३५ मिलियन अमेरिकी डलर लागतमा निर्माण भएको यस भवनको कुल निर्मित क्षेत्रफल ४० हजार ५ सय वर्ग मिटर भन्दा बढी रहेको छ। पुरानो डब्ल्यूएचओ हाउसको क्षेत्रफल १० हजार ५ सय वर्ग मिटर मात्र थियो।


प्रतिक्रिया दिनुहोस