डा. पुकार चन्द्र श्रेष्ठलाई ‘एफआरसीएस’को उपाधि, नेपालमा उक्त उपाधि पाउने पहिलो प्रत्यारोपण शल्य चिकित्सक
एडिनबर्ग (बेलायत) – नेपालका प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठलाई बेलायतको रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसीएस) को उपाधि प्रदान गरेको छ।
विश्वस्तरीय नतिजा सहित नेपालमा कलेजो र मिर्गौला प्रत्यारोपण सेवा स्थापना गर्ने डा. पुकार यो सम्मान पाउने पहिलो नेपाली कलेजो र मृगौला प्रत्यारोपण सर्जन हुन् ।
बेलायतमै प्रत्यारोपण सम्बन्धी अध्ययन पूरा गरेर नेपाल फर्की मृगौला र कलेजो प्रत्यारोपण सेवा स्थापना र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. श्रेष्ठलाई सम्मान गरिएको हो।
उक्त उपाधि कलेजकी पहिलो महिला अध्यक्ष डा. क्लेयर म्याकनोटले डा. पुकार लाई प्रदान गरिन्। कार्यक्रममा पूर्व अध्यक्ष प्रा. रोवान पार्क्स, ईस्ट एंग्लियाका एसोसिएट प्रोफेसर डा. कमल अर्याल पनि उपस्थित थिए।
डा. पुकारले वीर अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरे। त्यस पछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरेर देश भर १,६०० भन्दा बढी मृगौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरेका छन । उनको नेतृत्वमा नेपालमै पहिलो कलेजो प्रत्यारोपण पनि सुरु भएको हो।
उनले मस्तिष्क मृत्यु भएकाबाट १३ जनाको मृगौला, ४ जनाको कलेजो र एक जनाको संयुक्त मृगौला तथा कलेजो प्रत्यारोपण गरिसकेका छन्। यस्तै एकै व्यक्तिमा तेस्रो पटक मृगौला प्रत्यारोपण र ४ धमनी भएको दाताबाट जटिल शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गरेका छन।
सन २००० मा प्रत्यारोपण तालिमको सुरुआत गरेको डा. पुकार चन्द्र श्रेष्ठले त्यही कलेजबाट एमआरसीएस उपाधि पनि पाएका थिए। उनले बेलायतका प्रतिष्ठित अस्पताल, जस्तै फ्रिम्यान अस्पतालमा पनि प्रत्यारोपण सम्बन्धी विशेष तालिम लिएका थिए ।

प्रतिक्रिया दिनुहोस