किष्ट मेडिकल कलेज मा आक्रमण तोडफोड गर्ने लाई कारबाहीको माग, सुरक्षा नपाए सेवा बन्द गर्ने चेतावनी

मृतक मिनाश्री राईका दुई सन्तानको पालन पोषण र शिक्षाको जिम्मा लिने किष्ट मेडिकल कलेज को निर्णय


काठमाडौँ – ललितपुरको इमाडोल स्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरी हुन भर्ना भएकी बिरामीको मृत्यु पछि उत्पन्न घटनालाई लिएर अस्पतालमा भएको आक्रमण र तोडफोड प्रति नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले कडा आपत्ति जनाएका छन्। तर यसै बीच किष्ट मेडिकल कलेजले मृतक मिनाश्री राईका दुई सन्तानको पालन पोषण र शिक्षाको जिम्मा लिने निर्णय गरेको छ ।

दुवै संघले अलग अलग विज्ञप्ति जारी गर्दै अपराधीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकार सँग तात्कालिक कदम चाल्न माग गरेका छन्। साथै, यदि दोषी माथि शीघ्र कारबाही नभए र सुरक्षाको ग्यारेन्टी नपाइए, स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

नेपाल चिकित्सक संघले विज्ञप्तिमा भनेको छ, ‘यदि उपचारको क्रममा लापरबाही भएको आशंका छ भने त्यसको छानबिन र समाधान कानुनी प्रक्रियाबाट हुनु पर्छ। तर, असन्तुष्टिको नाममा अस्पतालमा आक्रमण गर्नु अस्वीकार्य र गैरकानुनी कार्य हो।’ संघले थप उल्लेख गरेको छ कि यस्ता घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर पार्ने र स्वास्थ्य सेवा नै जोखिममा पार्ने सम्भावना हुन्छ।

त्यस्तै, एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आफ्नो विज्ञप्तिमा किष्ट कलेज माथिको आक्रमणलाई ‘स्वाभाविक असन्तुष्टि नभई नियोजित र प्रायोजित हमला’, भनेर व्याख्या गरेको छ। संघका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीका आफन्तका नाममा पेशेवर गुण्डा परिचालन गरेर अस्पताल र स्वास्थ्यकर्मी माथि आक्रमण गरिनु कुत्सित षड्यन्त्र हो।’

प्राइभेट मेडिकल कलेजले स्पष्ट गरेको छ कि चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो उच्चतम पेशागत दक्षता प्रयोग गरी उपचार गर्छन्, तर उनीहरू भगवान होइनन्। ‘यदि उपचारमा त्रुटि भएको भए त्यसको छानबिन गर्ने कानुनी निकायहरू विद्यमान छन्। अस्पतालमा भीड जम्मा गरी आक्रमण गर्नु आपराधिक कार्य हो,’ विज्ञप्तिमा उल्लेख छ।

दुवै संस्थाले यस्ता हिंसात्मक घटनाले निजी अस्पतालहरूमा त्रास र असुरक्षा बढाएको भन्दै प्रश्न उठाएका छन् कि यस्तो वातावरणमा चिकित्सक र स्वास्थ्यकर्मीले सेवा कसरी सञ्चालन गर्ने?

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चेतावनी दिएको छ, ‘यदि दोषी माथि तत्काल कानुनी कारबाही भएन र अस्पतालको सुरक्षा सुनिश्चित भएन भने, सदस्य मेडिकल कलेजहरूले स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम सञ्चालन गर्न असमर्थ हुनेछन्।’

नेपाल चिकित्सक संघले पनि यस्तै चेतावनी दिँदै, स्वास्थ्य सेवा अवरुद्ध हुँदा जनतामै असर पर्ने भएकाले सरकारले तुरुन्त ठोस कदम चाल्नुपर्ने जोड दिएको छ।

सुत्केरीको मृत्युपछि किष्ट अस्पतालको पहल

गत शुक्रबार खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरी पश्चात मृत्यु भए पछि उनका आफन्तले अस्पतालमाथि लापरबाहीको आरोप लगाउँदै सोमबार अस्पतालमा प्रदर्शन र तोडफोड गरेका थिए।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवार बीच भएको छलफलपछि अस्पतालले मृतक राईकी नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा शिक्षाको जिम्मा लिने निर्णय गरेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

उक्त सहमति भए पछि मृतकका आफन्तले आन्दोलन नगर्ने र शव बुझ्ने निर्णय गरेका छन्। सोमबार आक्रोशित भीडले अस्पतालको गेट तोड्दै प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज र २४ राउन्ड अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो। भीडले अस्पतालमा ढुंगामुढा समेत गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!