‘म बिराएको छैन, म डराएको छैन’: डा.संगीता मिश्रको भ्रष्टाचार मुद्दा पछि कडा जवाफ


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयका निवर्तमान अतिरिक्त सचिव डा. संगीता मिश्र लगायत १५ जना विरुद्ध करिब १४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको केही घण्टा पछि डा. मिश्रले सामाजिक सञ्जाल मार्फत तीव्र प्रतिक्रिया दिएकी छन ।

फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले आफू निर्दोष भएको दाबी गरेकी छन् र यो मुद्दा ‘प्रायोजित षड्यंत्र’ भएको आरोप लगाएकी छन्। उनले लेखेकी छन्, ‘मैले बिराएको छैन, म डराएको छैन।’

डा. मिश्रका अनुसार, उनी स्वास्थ्य मन्त्रालयको उच्च तहमा २०७० सालमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेपछि ‘स्थायी सत्ताका कर्मचारी, नेता र बिचौलिया’ लाई असहज महसुस भएको थियो। त्यसयता आफू विरुद्ध तथ्यहीन आरोप, मुद्दा र अनुसन्धान मार्फत दबाब सिर्जना गर्ने प्रयास हुँदै आएको उनको दाबी छ।

उनले स्वास्थ्य क्षेत्रमा ‘नीतिगत भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र केही स्वार्थ समूह तथा आइएनजीओ हरूको स्वेच्छाचारिता’ विरुद्ध आवाज उठाउँदै आएको बताइन्। त्यसकै कारण केही पूर्व मन्त्री, कर्मचारी र नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीले आफू विरुद्ध मुद्दा र षड्यंत्र को  प्रयास गरेको आरोप समेत लगाइन्।

डा. मिश्रले पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल माथि पनि गम्भीर आरोप लगाएकी छन्। उनले लेखेकी छन्, ‘पौडेल मन्त्री हुँदा मलाई गैरकानूनी र अपमानजनक रूपमा महानिर्देशक पदबाट हटाइयो।’ उनले आफ्नो बढुवामा समेत राजनीतिक हस्तक्षेप भएको दाबी गर्दै मन्त्री मण्डलको निर्णय ‘स्वार्थपूर्ति’ का लागि गराइएको बताइन्।

उनले हाल दायर भएको मुद्दा पनि त्यही निरन्तर षड्यंत्रको हिस्सा भएको जनाउँदै भनिन्, ‘स्वास्थ्य सेवा विभाग अन्तर्गत नियमित खरीद प्रक्रियामा अनुसन्धान हुँदा मेरो नाम समावेश गरिएको हो, तर मेरो नैतिक धरातल स्पष्ट छ।’

डा. मिश्रले आफू न्याय प्रणाली प्रति पूर्ण विश्वास राख्ने बताउँदै कानुनी बाटोबाट लड्ने घोषणा गरेकी छन्। उनले लेखेकी छन्, ‘यो प्रायोजित षड्यंत्रले मेरो आत्मबललाई अझ बलियो बनाएको छ। सत्यको जित हुनेछ।’

फेसबुक पोस्टको अन्त्यमा उनले सीमांतकृत वर्ग र महिलाको आवाज दबाउने प्रयास प्रति सरकार, राजनीतिक दल र नयाँ पुस्तालाई सचेत रहन आग्रह गरेकी छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!