अनुसन्धान
भूमध्यसागरीय आहारले उच्च रक्तचाप र मुटुरोगको जोखिम ३० प्रतिशत सम्म घटाउन सक्छ

ताजा तरकारी, फलफूल, सम्पूर्ण अन्न (होल ग्रेन), माछा, दाल र मेवा समावेश गरिएको भूमध्य सागरीय आहार (मेडीटरेनियन डाइट) अहिले विश्व भर स्वस्थ जीवन शैलीको प्रमुख विकल्पका रूपमा स्थापित हुँदै गएको छ।
हार्वर्ड स्कूल अफ पब्लिक हेल्थका वैज्ञानिकहरूले यो आहार केवल परम्परागत खानपान पद्धति नभई वैज्ञानिक रूपमा प्रमाणित स्वास्थ्य सूत्र भएको बताएका छन्।
जर्नल अफ न्यूट्रिशनमा प्रकाशित अध्ययन अनुसार इटाली, ग्रिस र स्पेन जस्ता भूमध्यसागरीय देशहरूको पारम्परिक भोजन शैलीमा आधारित यो आहार अब विश्वव्यापी रूपमा स्वास्थ्य सुधारको मोडलका रूपमा अपनाइँदैछ।
यो आहारको मुख्य विशेषता यसको लचकता हो। विशेषज्ञहरूका अनुसार यसलाई व्यक्तिगत स्वास्थ्य आवश्यकता अनुसार सजिलै परिमार्जन गर्न सकिन्छ। उच्च रक्तचाप, मुटुरोग, दीर्घकालीन दुखाइ (क्रोनिक पेन) वा मेटाबोलिक समस्याहरू भएका व्यक्तिहरूका लागि यो आहार उपयोगी मानिन्छ।
हार्वर्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थकी पोषणविद् डा. एलिस लाङरका अनुसार, ‘मेडिटरेनियन डाइट कुनै कठोर फार्मुला होइन, यो लचिलो रूपरेखा हो जसलाई प्रत्येक व्यक्तिले आफ्नै जीवनशैली र शरीरका आवश्यकता अनुसार ढाल्न सक्छ।’
अध्ययनका नतिजा अनुसार, यो आहार अपनाउने व्यक्तिमा मुटुरोगको जोखिम ३० देखि ४० प्रतिशत सम्म घट्ने, रक्तचाप र कोलेस्ट्रोल सन्तुलित रहने, शरीरमा हुने सूजन कम हुने र संज्ञानात्मक स्वास्थ्य (कॉग्निटिभ हेल्थ) दीर्घकाल सम्म राम्रो रहने देखिएको छ।
भूमध्यसागरीय क्षेत्रबाट सुरू भएको यो आहार अब नेपाल, भारत, जापान, अमेरिका र मध्य पूर्वका देशहरू सम्म फैलिएको छ। स्थानीय खानाका परिकारहरूलाई यसमा मिलाएर ‘न्यू मेडिटरेनियन डाइट’ का रूपमा पनि प्रयोग भइरहेको छ। उदाहरणका लागि, चिनियाँ बदाम (मूँगफली) तेलको सट्टा जैतून तेल र मसुर वा चनालाई प्रोटिन स्रोतका रूपमा समावेश गर्ने चलन बढ्दो छ।
स्वास्थ्य विशेषज्ञहरूको निष्कर्षमा भनिएको छ, सन्तुलित, स्थानीय र ताजा पदार्थमा आधारित यो आहार स्वास्थ्यका लगभग सबै लक्ष्यहरूका लागि उपयुक्त र टिकाउ उपाय हो।
व्यक्तिगत आवश्यकता अनुसारको आहार अन्तर्गत वैज्ञानिकहरूले यसलाई चार प्रमुख स्वास्थ्य अवस्थाका आधारमा फरक फरक रूपमा अपनाउन सुझाव दिएका छन् ।
- उच्च रक्तचापका लागि: कम नुन, बढी जैतून तेल र पोटासियम युक्त तरकारी।
- मुटु स्वास्थ्यका लागि: माछा, ओखर, अलसी बीउ र एवोकाडो जस्ता ओमेगा ३ युक्त पदार्थ।
- पुरानो दुखाइका लागि: बेसार, गोलभेडा र फाइबर युक्त खाना जसले सूजन घटाउँछ।
- मेटाबोलिक र तौल नियन्त्रणका लागि: सम्पूर्ण अन्न, दाल र सीमित दुग्ध पदार्थ।
प्रतिक्रिया दिनुहोस