अनुसन्धान

एआई (कृत्रिम बुद्धिमत्ता)मा बढी निर्भरता: चिकित्सकको रोग पहिचान क्षमता घट्दै


एआई (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात कृत्रिम बुद्धिमत्ताले विश्व भरका चिकित्सकलाई रोग छिटो र सहि तरिकाले पत्ता लगाउन सहयोग गरि रहेको छ। तर, एआईमा अत्यधिक निर्भरता बढ्दै जाँदा चिकित्सकको आफ्नै पहिचान क्षमतामा कमजोरी आउने खतरा देखिएको एक अध्ययनले चेतावनी दिएको छ।

द लेंसेट ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी मा प्रकाशित नयाँ अध्ययनका अनुसार, कोलोनोस्कोपी जाँचका क्रममा लगातार एआईको प्रयोग हुँदा चिकित्सकले खतरनाक रोगहरू चिन्न सक्ने क्षमता घट्न सक्छ। द लेंसेट ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी मा प्रकाशित यो अनुसन्धान लाई पढ्न यहाँ क्लिक गर्नुस्।

पोल्याण्डका चार अस्पतालमा गरिएको अध्ययनले एआईले डाक्टरहरूको पोलिप्स (असामान्य मासुका गाँठा) पहिचान क्षमतामा कस्तो असर गर्छ भन्ने मूल्यांकन गर्‍यो। कोलोनोस्कोपी परीक्षणमा चिकित्सकले ठूलो आन्द्रामा देखिने त्यस्ता सेल्स वा पोलिप्स खोज्छन्, जुन पछि गएर क्यान्सरमा परिणत हुन सक्छ।

अध्ययनले देखाएको परिणाम अनुसार, जब एआई प्रयोग नगरिएको प्रक्रियामा एडेनोमा (क्यान्सर नभएका असामान्य सेल्स) पहिचान गर्ने दर २८% बाट घटेर २२% मात्र रह्यो। यसले समग्रमा करिब ६% गिरावट देखायो, जसले एआई प्रयोगले चिकित्सकको सीपमा नकारात्मक असर पार्ने संकेत गर्छ।

सिलेसिया एकेडेमीका डा. मार्सिन रोमारानजिकले यसलाई चिन्ता जनक भनेका छन्। उनका अनुसार, स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा फैलिइरहेका कारण यसको दीर्घकालीन प्रभाव बुझ्न थप अनुसन्धान आवश्यक छ।

अघिल्ला अनुसन्धानहरूले भने एआई सहयोगी हुँदा कोलोनोस्कोपीमा रोग पहिचान दर बढ्ने देखाएका थिए। तर, ओस्लो विश्वविद्यालयका डा. युइची मोरीले चिकित्सकहरू पहिले नै एआई प्रयोगबाट प्रभावित भएकाले पछि एआई बिना काम गर्दा उनीहरूको क्षमता कमजोर देखिएको हुन सक्ने बताएका छन्।

अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् कि चिकित्सकहरू लगातार एआईमा निर्भर हुन थालेमा उनीहरू कम प्रेरित, कम फोकस्ड र कम जिम्मेवार बन्ने सम्भावना रहन्छ। यस्तो प्रवृत्ति स्वास्थ्य क्षेत्रमा ठूलो जोखिम बन्न सक्ने अध्ययनले निष्कर्ष निकालेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!