मस्तिष्क मृत्यु पश्चात अङ्ग प्रत्यारोपणले नेपालमा गति लिँदै


भक्तपुर –  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु पश्चात अङ्ग प्रत्यारोपणलाई निरन्तरता दिइँदै आएको छ। पछिल्लो ३ महिनाको अवधिमा तीन महिलामा मृगौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण सफल भएको छ।

२०८२ साउन ३० गते ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएका पुरुषबाट दुईवटा मृगौला र एक कलेजो प्राप्त गरिएका थिए। ती अङ्गहरू एकै साथ तीन जनामा प्रत्यारोपण गरिए। कलेजो प्रत्यारोपित ३८ वर्षका पुरुष ९ दिनमा सकुशल डिस्चार्ज भएका छन् भने मृगौला प्रत्यारोपित दुवै महिला निकट भविष्यमा डिस्चार्ज हुने तयारीमा छन्।

तीन महिना अघि पनि प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट प्राप्त अङ्गहरूबाट दुई पुरुष र एक महिलामा सफल प्रत्यारोपण गरिएको थियो।

नेपालमा मस्तिष्क मृत्यु पश्चात अङ्ग प्रत्यारोपण २०७४ वैशाख २८ गते सुरु भएको हो। त्यति बेला देखि हाल सम्म ७ जना व्यक्तिबाट प्राप्त अङ्ग .मार्फत १३ जनामा मृगौला र ५ जनामा कलेजो प्रत्यारोपण गरी कुल १८ जनामा प्रत्यारोपण सम्पन्न भएको छ।

केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार हालैका वर्षमा मस्तिष्क मृत्यु पश्चात हुने अङ्ग प्रत्यारोपणले थप गति लिएको छ।

कानुनी प्रावधान र प्रक्रिया

मानव शरीर अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५, संशोधन २०७२ तथा नियमावली २०७३ अनुसार, व्यक्तिले जीवनकालमै मस्तिष्क मृत्यु पश्चात अङ्गदान गर्ने सहमति दिएको भए वा नजिकका नातेदारले मञ्जुरी दिएको अवस्थामा मात्र अङ्गदान गर्न सकिन्छ।

चिकित्सक र टिमको संलग्नता

यस पटकको प्रत्यारोपण शल्यक्रियामा डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा डा. रोशन घिमिरे, डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का, डा. लोचन श्रेष्ठ, डा. विक्किन डंगोल लगायतका चिकित्सक संलग्न थिए। यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा रेखा श्रेष्ठ, डा शिव सुन्दर राजचल लगायतले सहयोग गरेका थिए । नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा लुसन सिंह, डा. सुमित आचार्य, डा. विकम वीर बज्राचार्य, डा रुबश नाथ योगी, डा सन्तोष कार्की सहभागी थिए । रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा हितेश रायमाझी डा. सुधिर जोशी, प्याथोलोजिस्ट डा. सोनालि मिश्र, ल्याब टेक्नोलोजिष्ट विन्दिरा जोशी, ट्रान्सप्लान्ट कोर्डिनेटर तारा साँध, सरु कोजु, बन्दना खत्री, डा निरु शमां, डा नेहा सिंह फिजियोथेरापिस्ट सोनी सिखवालले पनि सघाएका थिए । निमित्त नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्जहरु, बबिता लवजु, एलिसा श्रेष्ठ, निरु सुवाल, अनिता काकी, मीना खर्बुजा, मन्जु भट्टराई सनिषा कार्कीले नर्सिड व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाएका थिए ।

साथै, सुमेरु सिटी अस्पतालका प्रशासन, एनेस्थेसियोलोजिस्ट डा. निरोज हिराचन, पोस्टमार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ लगायतको उल्लेखनीय सहयोग रहेको केन्द्रले जनाएको छ।

अङ्ग वितरण प्रणाली

नेपाल सरकारले मस्तिष्क मृत्यु पश्चात प्राप्त अङ्गको प्राथमिकता सूची व्यवस्थापन र वितरणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समन्वय इकाइको जिम्मेवारी दिएको छ। हाल उक्त इकाइको संयोजक डा. कल्पना कुमारी श्रेष्ठ छिन ।

मापदण्ड अनुसार अङ्ग प्रत्यारोपण चाहनेले नियमित स्वास्थ्य परीक्षण गरी प्रतिक्षा सूचीमा नाम दर्ता गर्नुपर्ने हुन्छ। सम्बन्धित अस्पतालमा प्रत्यारोपण सुविधा उपलब्ध भएमा केन्द्रले अङ्ग सोही अस्पतालमा पुर्‍याउने गर्छ ।

महिलामा मृगौला प्रत्यारोपण वृद्धि

हालसम्म मस्तिष्क मृत व्यक्तिबाट प्राप्त १३ मृगौला मध्ये १० पुरुष र ३ महिलामा प्रत्यारोपण भएको छ। महिलामा मृगौला प्रत्यारोपणको संख्या क्रमशः बढ्दै गएको केन्द्रले जनाएको छ। हालको नियम अनुसार महिलालाई मृगौला प्रत्यारोपणमा पुरुषभन्दा ३ गुणा बढी अंक दिइने व्यवस्था छ, जसले लैङ्गिक असमानता कम गर्न सहयोग पुयाइरहेको छ।

अङ्गदानको महत्व

डा. श्रेष्ठका अनुसार, एक मस्तिष्क मृत व्यक्तिबाट ८ वटा अङ्ग (२ मृगौला, २ फोक्सो, १ कलेजो, १ मुटु, १ प्याङ्क्रियाज र १ सानो आन्द्रा) प्रत्यारोपण गरी ८ जनाको जीवन बचाउन सकिन्छ। तर, जनचेतनाको कमीका कारण नेपालमा अङ्गदान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

केन्द्रको आगामी योजना

राष्ट्रिय प्रत्यारोपण केन्द्रले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा सेवा विस्तार गरि सकेको छ भने बाँकी प्रदेशहरूमा पनि निकट भविष्यमा प्रत्यारोपण सेवा सुरु गर्ने योजना छ।

तर, सरकारले प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर विशेषज्ञ जन शक्ति उत्पादन गर्ने घोषणा गरे पनि उपयुक्त जग्गा नपाउँदा ५०० शैय्याको भवन निर्माण योजना अलपत्र परेको केन्द्रले जनाएको छ। केन्द्रले गरीब नेपालीको जीवन बचाउन सरकारले तत्काल जग्गा उपलब्ध गराउनुपर्ने आवश्यकता समेत औंल्याएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!