पाँचथरमा लडेर मृत्यु हुने घटना उच्च

पाँचथर – आर्थिक वर्ष २०८१/८२ मा पाँचथर जिल्लामा लडेर मृत्यु हुने घटनामा उल्लेख्य वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, उक्त अवधिमा २५ जनाले लडेर ज्यान गुमाएका छन्, जसले यो कारणलाई जिल्लामा मृत्यु हुने घटना मध्ये सबै भन्दा बढी बनाएको छ।
अधिकांश घटना ग्रामीण क्षेत्रमा रातको समयमा भएका छन्। मेलापात वा छरछिमेकबाट घर फर्कँदै गरेका पैदल यात्रीहरू, विशेष गरी मादक पदार्थ सेवन गरेका व्यक्तिहरू, अन्धकारमा लडेर ज्यान गुमाउने गरेको प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
घाँस दाउरा गर्न वा पशु चराउन गएका व्यक्तिहरू को पनि यसरी अनाहकमा मृत्यु भएको उदाहरणहरू छन्। ग्रामीण भेगमा उद्धार कार्य समयमा हुन नसक्दा मृतकको संख्या अझै बढेको देखिन्छ।
गत आवमा अन्य कारणले पनि मानिसको ज्यान गएको छ । १४ जनाको मृत्यु अस्पष्ट कारणले भएको छ भने अचानक बिरामी भएर र खोलाले बगाएर ६–६ जनाको मृत्यु भएको छ।
यसै गरी, आगलागी, अरिङ्गालको टोकाइ र करेन्ट लागेर दुई–दुई जनाले ज्यान गुमाएका छन्। चट्याङ, रुखले किच्ने, सवारी दुर्घटना र पहिरोमा परेर एक–एक जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस