भारत पुर्याएर नेपाली युवाको मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

काठमाडौँ – नेपाली युवालाई भारत लगेर मिर्गौला निकाल्ने गिरोहमा संलग्न चार जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेका दुई/दुई जनालाई विशेष अपरेसन मार्फत पक्राउ गरेको हो।
ब्युरोका अनुसार सो गिरोहले पछिल्लो एक वर्षमा कम्तीमा ५० जना नेपालीलाई भारतको दिल्ली र नोएडा सम्म पुर्याएर मिर्गौला निकाल्ने काम गरेको खुलेको छ।
ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार गिरोहले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका युवाहरुलाई ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत लग्थे र त्यहीँ उनीहरुको मिर्गौला निकालेर नेपाल फर्काउँथे।
उनले भने, ‘देशका विभिन्न जिल्लाबाट युवालाई भारत लगेर मिर्गौला निकालिएको पुष्टि भएको छ। कति व्यक्तिको मिर्गौला निकालियो र कसलाई कति रकम दिइयो भन्नेबारे अनुसन्धान भइरहेको छ।’
प्रहरीका अनुसार मिर्गौला निकालिएका केही व्यक्ति सम्पर्कमा आइ सकेका छन्। यस अघि काभ्रेको होक्से लगायतका ठाउँका मानिसलाई पनि यसै गरी फसाइएको थियो।
ब्युरोले गिरोह माथि निगरानी राख्दै विशेष अपरेसन सञ्चालन गरेको र सोही क्रममा चार जनालाई पक्राउ गरिएको एसएसपी पंगेनीले जानकारी दिए। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस