स्वास्थ्य मन्त्रालयको आर्थिक पारदर्शिता सुनिश्चित गर्न नयाँ कार्यविधि लागू


काठमाडौं – स्वास्थ्य मन्त्रालयले आर्थिक कारोबार र वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र अनुशासित बनाउने उद्देश्यले नयाँ कार्यविधि लागू गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा स्वीकृत उक्त कार्यविधिले मन्त्रालय तथा मातहतका निकायहरूको बजेट, खर्च तथा रेकर्ड व्यवस्थापन लाई स्पष्ट दिशानिर्देश दिनेछ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कार्यविधिमा बजेट निर्माण, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, आपसी समन्वय र पारदर्शिताजस्ता महत्त्वपूर्ण पक्षहरू समेटिएका छन्।

‘यसले मन्त्रालयको आन्तरिक कार्यसम्पादन प्रणालीमा सुधार ल्याउनेछ, साथै कर्मचारीको जिम्मेवारी र जवाफदेहीतालाई मजबुत बनाउनेछ,’ प्रवक्ता बुढाथोकीले बताए।

नयाँ कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा पालना गर्नुपर्ने मापदण्डहरू स्पष्ट पारेको छ। त्यस्तै, रकमान्तर गर्दा ध्यान दिनुपर्ने विषयहरूलाई पनि विशेष गरी उल्लेख गरिएको छ।

कार्यविधिले विगतमा मन्त्रालय र मातहतका कार्यालयहरूमा देखिँदै आएको बेरुजु समस्या समाधान गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ। यो कदमले आर्थिक अनुशासनलाई संस्थागत बनाउँदै पारदर्शिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!