स्वास्थ्य सेवा र चिकित्सा पेसाको मूल्याङ्कन अन्य व्यवसाय जस्तो गरिनु अस्वीकार्य : चिकित्सक संघ

काठमाडौं – नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा र चिकित्सा पेसाको मूल्याङ्कन अन्य व्यवसाय जस्तो गरिनु अस्वीकार्य भएको स्पष्ट पारेको छ।
चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको पछिल्लो कारवाही प्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाउदै प्रेस विज्ञप्ति मार्फत उक्त कुरा स्पष्ट पारेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा सेवा कुनै सामान वा उपभोक्ता वस्तु होइन। यस लाई सामान्य व्यापारिक ढाँचामा हेर्नु गम्भीर त्रुटि हो।’
संघका अनुसार उपचारका क्रममा देखिने जटिलता वा प्रतिकूल असरको सम्पूर्ण जिम्मा चिकित्सक माथि थोपर्नु न्याय सम्मत छैन । यस्ता निर्णयहरूले सम्पूर्ण स्वास्थ्य प्रणालीप्रति अविश्वासको भावना सिर्जना गर्दै चिकित्सकहरू त्रसित हुने वातावरण बनाउने संघको तर्क छ।
चिकित्सक संघले नियामक निकाय नेपाल मेडिकल काउन्सिलको भूमिकालाई बेवास्ता गर्दै अदालतले कानुनी हस्तक्षेप गरेको प्रति पनि आपत्ति जनाएको छ ।
संघले स्वास्थ्य सेवा र चिकित्सकसँग सम्बन्धित विषयमा मूल्याङ्कन गर्ने जिम्मा मेडिकल काउन्सिललाई मात्रै दिनुपर्ने माग गरेको छ।
संघले उपभोक्ता अदालतको निर्णयको पुनरावलोकन गरिनु पर्ने र स्वास्थ्य मन्त्रालय सहित सम्बन्धित निकायले तत्काल ध्यान दिनु पर्ने माग समेत राखेको छ।
विज्ञप्तिमा चिकित्सकहरूले डर वा दवावको वातावरणमा होइन, सुरक्षित र सम्मान जनक वातावरणमा काम गर्न पाउनु पर्ने उल्लेख छ। अन्यथा, यसले स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने चेतावनी संघले दिएको छ।
चिकित्सक संघले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने कुनै पनि कार्य वा निर्णयलाई अस्वीकार्य ठहर गर्ने स्पष्ट सन्देश समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस