त्रिवि विद्यार्थी र प्राध्यापक लाई संघीय अस्पतालमा उपचार सुविधा

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थी र प्राध्यापकहरूलाई संघीय सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूमा विशेष उपचार सुविधा प्रदान गर्न स्वास्थ्य मन्त्रालय र त्रिवि बीच समझदारी भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा सो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
समझदारीअनुसार त्रिविको उपचार कोष मार्फत ९० प्रतिशत अनुदान र १० प्रतिशत व्यक्तिगत योगदानमा आधारित गरी संघीय अस्पतालहरूमा उपचार सेवा उपलब्ध गराइनेछ।
सो अवसरमा मन्त्री पौडेलले त्रिविका सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आग्रह गरे। उनले सरकारको नीति अनुसार संगठित क्षेत्रका सबैलाई स्वास्थ्य बीमा अन्तर्गत ल्याउने तयारी भइसकेको उल्लेख गर्दै त्रिविले समेत छिट्टै सबैलाई सहभागी गराउने विश्वास व्यक्त गरे।
‘स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्रोत विस्तार र नीतिगत सुधार हुँदैछ,’ मन्त्री पौडेलले भने, ‘त्रिविका विद्यार्थी र प्राध्यापकको सहभागिताले यो अभियानलाई थप गति दिनेछ।’
मन्त्रालयका सचिव डिल्लीराम शर्माले सम्झौता व्यवहारमा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
त्रिवि उपकुलपति डा. केसीले स्वास्थ्य बीमा कार्यक्रमका लागि त्रिवि भित्रै कार्यदल गठनको तयारी भइ रहेको जानकारी दिए। उनले स्वास्थ्य र शिक्षामा मन्त्रालयसँग सहकार्यलाई अझ विस्तार गरिने प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस