अहमदाबाद विमान दुर्घटना: ६२५ फिटबाट खसेर पनि बाँच्न सफल एक मात्र व्यक्तिको आश्चर्यजनक कथा

नयाँ दिल्ली (ब्युरो) -गुजरातको अहमदाबाद बाट लण्डन जाँदै गरेको एअर इन्डियाको बोइङ ७४७ ड्रीमलाइनर विमान (उडान संख्या एआई-१७१) बिहीबार उडान भरे पछि केही बेर मै दुर्घटनामा पर्यो।
उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी सहित २४२ जना यात्रु सवार थिए। हाल सम्म २०० भन्दा बढीको ज्यान गएको पुष्टि भइ सकेको छ। तर यस्तै भीषण दुर्घटनामा एक व्यक्ति भने जीवितै उद्धार हुन सफल भएका छन्।
फ्लाइट रडारका तथ्यांक अनुसार, विमान ६२५ फिटको उचाइमा पुग्ना साथ दुर्घटनाग्रस्त भएको हो। घटनाको भयावहता यति गहिरो थियो कि अधिकांश यात्रुको मृत्यु भएको छ।
तर ती व्यक्तिले ६२५ फिट उचाइ बाट खसेर पनि ज्यान जोगाउन सफल भए। उनी आफ्नै खुट्टाले दुर्घटनास्थल बाट घाइते अवस्थामा अस्पताल सम्म पुगेका थिए।
जीवित बाँचेका व्यक्ति: रमेश विश्वास कुमार
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकका अनुसार, विमानको सीट नम्बर ‘११ए’ मा बसेका रमेश विश्वास कुमार जीवित अवस्थामा भेटिएका थिए। उनी अहिले अहमदाबादको सिभिल अस्पतालमा उपचाररत छन्। मलिकले भने, ‘दुर्घटनास्थल आवासीय क्षेत्र भएकोले मृतकको संख्या अझै बढ्न सक्छ।’
दुर्घटनाको सम्भावित कारणबारे अध्ययन आवश्यक
विमानमा करिब ८०–९० टन इन्धन भएको अनुमान गरिएको छ। घटना पछि भारतीय जनता पार्टी (भाजपा) का सांसद राजीव प्रताप रूडीले यसलाई अत्यन्त दुखद घटना बताउँदै भने, ‘म विमान विशेषज्ञ होइन, त्यसैले कारण बारे अनुमान गर्नु उपयुक्त हुने छैन। तर यस्ता दुर्घटनाको निष्पक्ष र गहिरो छानबिन आवश्यक हुन्छ।’
उनले थपे, ‘बोइङ ७४७’ ड्रीमलाइनर लामो दूरीको उडानका लागि बनाइएको शक्तिशाली विमान हो, जसले लगातार १२–१४ घण्टा उडान गर्न सक्छ। त्यसैले दुर्घटनाको बेला विमानमा धेरै मात्रामा इन्धन भएको सम्भावना छ।’ यो दुर्घटना पीडादायी त छँदैछ, तर रमेश विश्वास कुमार जीवित बाँच्नु कुनै चमत्कार भन्दा कम छैन।
प्रतिक्रिया दिनुहोस