हेल्थ कन्सर्न नेपालद्वारा ‘एचओएस’ सार्वजनिक, स्वास्थ्य सेवा प्रवाहमा डिजिटल रूपान्तरण

काठमाडौँ – स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल बनाउने उद्देश्य सहित हेल्थ कन्सर्न नेपालले ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्रालयले गत १३ फागुनमा जारी गरेको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका – २०८१’ अनुरूप विकास गरिएको उक्त सफ्टवेयर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।
हेल्थ कन्सर्न नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवास प्याकुरेलका अनुसार एचओएसले अस्पताल तथा स्वास्थ्य संस्थामा सेवा प्रवाहलाई छरितो, पारदर्शी र कागज मुक्त बनाउने उद्देश्य लिएको छ।
‘अबको स्वास्थ्य सेवा प्रणाली सूचना प्रविधिमै आधारित हुनुपर्छ। हाम्रो सफ्टवेयरले सेवा पहुँच, कार्यक्षमता र सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउनेछ,’ डा. प्याकुरेलले पत्रकार सम्मेलनमा जानकारी दिए।
उनका अनुसार एचओएस सफ्टवेयरमा अपोइन्टमेन्ट बुकिङ, अनलाइन सेल्फ टिकटिङ, ओपिटी इएमआर, प्यासेन्ट पोर्टल, ल्याब तथा रेडियोलोजी, डिस्चार्ज प्रक्रिया, बिलिङ प्रणाली, प्यासेन्ट कार्ड जेनेरेटर, रिपोर्ट विश्लेषण, इन्भेन्टरी म्यानेजमेन्ट तथा फार्मेसी व्यवस्थापन लगायतका सुविधा उपलब्ध छन्।
प्रारम्भिक चरणमा क्लिनिक, पोलि क्लिनिक, फार्मेसी, ल्याब, पालिका तथा सामुदायिक अस्पतालहरूमा लक्षित गरी सफ्टवेयर लागू गरिने बताइएको छ।
संस्थाकी प्रमुख कार्यक्रम अधिकृत श्रृष्टि पन्तले सफ्टवेयर वेब आधारित भएकाले जहाँ सुकैबाट पनि पहुँच स्थापित गर्न सकिने जानकारी दिइन । उनले विद्युतीय अभिलेख मार्फत बिरामीका स्वास्थ्य सम्बन्धी दस्तावेजहरू सुरक्षित रूपमा संग्रह र पुनःप्रयोग गर्न सकिने सुविधा समेत रहेको बताइन्।
उनका अनुसार सफ्टवेयर विद्यमान स्वास्थ्य बीमा प्रणालीसँग समेत एकीकृत गरी सेवा प्रभावकारिता थप बलियो बनाउने गरी निर्माण गरिएको हो।
संस्थाका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले स्वास्थ्य सेवा सुधारका लागि हेल्थ कन्सर्न नेपाल ले विभिन्न सरोकारवाला सँग सहकार्य गर्दै आएको उल्लेख गर्दै भविष्यमा यस्ता परियोजनालाई अझ विस्तार गर्ने बताएका छन्।
डिजिटल प्रविधिको प्रयोग मार्फत नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय रूपान्तरण ल्याउने लक्ष्य सहित एचओएस सार्वजनिक गरिएको हो। एआई र ब्लक चेन जस्ता प्रविधिसँग समन्वय गर्न सक्ने बनाइएको उक्त सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने दीर्घकालीन योजना रहेको संस्थाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस